काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको चार घण्टा लामो गोप्य भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढिरहेका बेला एमाले नेता ठाकुर गैरेले त्यसको परिणाममाथि व्यङ्ग्यात्मक प्रश्न उठाएका छन्।
गैरेले सामाजिक सञ्जालमा लामिछानेकै ‘खिल निकाल्ने’ अभिव्यक्तिलाई जोड्दै भेटको उपलब्धिमाथि कटाक्ष गरेका हुन्।
‘करिब दुई महिनापछि रास्वपा सभापति र प्रधानमन्त्रीबीच भएको चार घण्टा लामो अति गोप्य छलफलले पुरानो खिल निकाल्ने भयो कि घाउमा नयाँ खिल थप्ने भयो,’ गैरेले लेखेका छन्।
नयाँ वर्ष २०८३ को शुभकामना सन्देशमा लामिछानेले ‘खिल निकाल्ने वर्ष’ भनेका थिए। गैरेले त्यही शब्दलाई राजनीतिक व्यङ्ग्यको अस्त्र बनाउँदै प्रधानमन्त्री र रास्वपा सभापतिबीचको लामो संवादको परिणाममाथि प्रश्न गरेका हुन्।
चार घण्टासम्म चलेको भेटमा के विषयमा छलफल भयो र त्यसबाट के निष्कर्ष निस्कियो भन्ने विवरण सार्वजनिक भएको छैन। तर, गोप्य भेटको अवधि लामो हुनु र त्यसको उपलब्धिबारे स्पष्ट जानकारी नआउनुले राजनीतिक प्रश्नलाई थप पेचिलो बनाएको छ।
गैरेको कटाक्षको सार स्पष्ट छ—गोप्य भेटको चर्चा होइन, त्यसको परिणाम चाहिन्छ। पुराना समस्या समाधान भए कि नयाँ विवाद थपिए, त्यसको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्ने प्रश्न उनको टिप्पणीले उठाएको छ।







प्रतिक्रिया