काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्याउने र प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न खोज्ने गतिविधिमाथि कानुनी अनुसन्धान अघि बढाउने चेतावनी दिएको छ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा संगठनको व्यावसायिकता र कार्यसम्पादनबारे भ्रम फैलाउने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै त्यस्ता गतिविधिमा संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति पनि प्रहरीले आपत्ति जनाएको छ। पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रचार गर्दा नागरिकमा भ्रम फैलिने र प्रहरी संगठनप्रतिको विश्वास कमजोर हुन सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई अपुष्ट तथा तथ्यहीन सूचना प्रसार नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि दबाब वा प्रचारबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन प्रतिबद्ध रहेको जनाएको छ।
प्रहरीको यो चेतावनी आईजीपीमाथि राजीनामाको दबाब बढेको चर्चाबीच आएको हो। यद्यपि, विज्ञप्तिमा अनुसन्धानको दायरामा पर्ने व्यक्ति वा समूहको नाम र उनीहरूमाथि कारबाही अघि बढाउनुपर्ने ठोस घटनाबारे खुलाइएको छैन।







प्रतिक्रिया