बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना गरेको भव्य सैन्य परेडले केवल सैन्य शक्ति प्रदर्शन मात्र गरेन, उसले नयाँ विश्व ध्रुवीकरणको संकेतसमेत दियो ।

चिनियाँ राजधानीको तियानआनमेन स्क्वायरमा आयोजित परेडमा राष्ट्रपति सी जिनपिङसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन काँधमा काँध मिलाएर हिँडे। ती तीन नेताको एउटै मञ्चमा उपस्थिति, एउटै फ्रेममा देखिनु र एउटै लयमा अघि बढ्नु पश्चिमी विश्वका लागि एउटा स्पष्ट चुनौती हो । यो उपस्थीतिले नयाँ शक्ति ध्रुवको उदय संकेत गरको छ ।
चीन, रूस र उत्तर कोरियाको त्रिकोणीय उपस्थितिलाई केवल कूटनीतिक औपचारिकता भन्न सकिँदैन। यो दृश्य विश्व राजनीतिमा चर्कंदो ध्रुवीकरणको चेतावनी हो। सन् २०२४ भर चीन-उत्तर कोरिया सम्बन्धमा चिसोपन देखिए पनि यो परेडले दुबै मुलुक फेरि रणनीतिक रूपमा नजिकिएको सन्देश दिएको छ।
रूस–उत्तर कोरियाबीचको सैन्य सहयोग पहिले नै खुलेको छ-युक्रेन युद्धमा उत्तर कोरियाबाट रूसले हतियार पाएको अन्तर्राष्ट्रिय प्रमाणहरूले पुष्टि गरिसकेका छन् । परेडमा हजारौं सैनिक, अत्याधुनिक मिसाइल प्रणाली, ड्रोन, र बुलेटप्रुफ गाडीहरू मात्र थिएनन्त्य-हाँ भू–राजनीतिक सन्देशहरूको वर्षा थियो। एकसाथ हिँडिरहेका सी, पुटिन र किमले “हामी अब सहकार्य मात्र होइन, साझेदार पनि हौं” भन्ने स्पष्ट सन्देश दिएका छन् ।

सीएनएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो उपस्थितिलाई “पश्चिमी मुलुकहरूको नेतृत्वमा रहेको विश्वव्यवस्थालाई चुनौती दिने नयाँ गठबन्धनको प्रक्षेपण” भनेर उल्लेख गरेका छन् । यस समारोहमा पाकिस्तान, इरान, मंगोलिया, इन्डोनेसिया लगायतका एशियाली राष्ट्रहरूसँगै अफ्रिका र क्यारेबियन मुलुकहरूको उपस्थिति पनि देखियो। युरोपबाट भने केवल स्लोभाकिया र सर्बियाका नेता सहभागी भए-जसले स्पष्ट पार्छ कि ‘पूर्व’ एकजुट हुँदैछ, ‘पश्चिम’ अझै द्विविधामा छ ।
बेइजिङको परेड एउटा सैन्य उत्सव मात्र होइन-यो राजनीतिक घोषणापत्र पनि भएको विश्व राजनीतिमा चर्चा चलिरहेको छ । सी जिनपिङको चीन, पुटिनको रूस र किम जोङ–उनको उत्तर कोरिया अब एउटै यात्रामा छन्। अनि त्यो यात्रा पश्चिमी प्रभुत्ववाला विश्व व्यवस्थालाई पुनः लेख्न गरिएको अभियानजस्तो देखिन थालेको छ।

प्रतिक्रिया