२०८२, १७ श्रावण शनिबार

अन्याय, असमानता र शोषणविरुद्ध विद्रोह गर्ने किसानका नेता हुनुहुन्थ्यो भीमदत्त पन्त : प्रधानमन्त्री ओली

अन्याय, असमानता र शोषणविरुद्ध विद्रोह गर्ने किसानका नेता हुनुहुन्थ्यो भीमदत्त पन्त : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त अन्याय, असमानता र शोषणका विरुद्ध विद्रोह गर्ने महान् किसान नेता भीमदत्त पन्त भएको बताउनुभएको छ । सहिद भीमदत्त पन्तको स्मृतिदिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले पन्तको योगदान र विचारहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको हो।

आज बालुवाटारमा नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित अध्यक्ष तथा महासचिवहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भीमदत्त पन्त केवल किसान नेता होइन, उहाँ समाजमा अन्यायविरुद्ध लड्ने क्रान्तिकारी जननेता हुनुहुन्थ्यो । उहाँले किसान, श्रमिक, दलित र उत्पीडित समुदायलाई संगठित गर्दै सामन्ती सोच, छुवाछूत, श्रमशोषण र सामाजिक अन्यायविरुद्ध सशक्त प्रतिरोध खडा गर्नुभयो।”

प्रधानमन्त्री ओलीले पन्तले वैज्ञानिक समाजवादको सिद्धान्त, मार्क्सवादको आलोकमा धर्म र समाजवादलाई श्रम र न्यायको दृष्टिकोणबाट व्याख्या गर्नुभएको उल्लेख गर्दै उहाँले प्रतिपादन गरेको विचार र दर्शनलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। वि.सं. २०१० साल साउन १७ गते डडेल्धुराको बुडरस्थित गइलेक जंगलमा भीमदत्त पन्तलाई गोली प्रहार गरी हत्या गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पन्तको हत्या गरेपछि उनको टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याइएको थियो, ताकि अन्यलाई भय देखाउन सकियोस्। तत्कालीन सामन्तीहरूले उनको परिवारलाई बहिष्कार गरियो र काजक्रियामा समेत रोक लगाइयो।”

तर, पन्तको हत्या गरेर उहाँको विचारलाई मेटाउन खोज्ने प्रयास असफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भीमदत्त पन्तको बलिदानले उत्पीडित जनसमुदायको आत्मसम्मान र अधिकारका लागि आन्दोलनलाई नयाँ ऊर्जा दियो। उहाँले उठाएका नाराहरू आज पनि समाजमा विद्यमान अन्यायविरुद्धको चेतना जगाउन प्रेरणादायी छन्।”

प्रधानमन्त्री ओलीले पन्तले प्रतिपादन गरेका “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो” जस्ता नाराहरू अहिले पनि समाज परिवर्तनका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो। भूमिहीन, सुकुम्बासी र श्रमिकहरूको अधिकार सुनिश्चित नगरेसम्म भीमदत्त पन्तको सपना अधुरै रहने स्पष्ट पार्दै उहाँले राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको अभियानमा पन्तको दर्शन मार्गदर्शक हुने धारणा व्यक्त गर्नुभयो। बैठकमा नेकपा (एमाले) का विभिन्न जनसंगठनका अध्यक्ष तथा महासचिवहरूको उपस्थिति रहेको थियो।

आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त 

“कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो” – इतिहासका यी शब्दहरू केवल एक नारामात्र होइनन्, यी हजारौं श्रमिक, किसान र उत्पीडित जनताको चित्कार हुन्, जसलाई भीमदत्त पन्तले क्रान्तिका नारामा बदलिदिए। उनी केवल डडेल्धुराका पन्त परिवारका सन्तान थिएनन्; उनी नेपालका लाखौं गरिब जनताको सपना र संघर्षको नाम थिए ।

भीमदत्त पन्तले नेपालको सुदूरपश्चिमको विकट गाउँबाट सुरु गरेको आन्दोलनले सामाजिक अन्याय, छुवाछूत, सामन्ती अत्याचार र श्रमशोषणका विरुद्ध सशक्त प्रतिरोध खडा गर्‍यो। उनको विचारमा केवल राजनीतिक परिवर्तनले समाज परिवर्तन हुँदैन, जबसम्म समाजका आधारभूत श्रमिक वर्ग र उत्पीडित समुदायको जीवनस्तर परिवर्तन हुँदैन। उनले ‘धर्म’लाई कर्मसँग जोड्दै गीता र मार्क्सवादको संगमबाट वर्गीय अन्यायविरुद्धको चेतना निर्माण गरे ।

भीमदत्तको क्रान्तिको मूल सन्देश

भीमदत्त पन्तको विचारको केन्द्रमा थियो – “कुनै पनि मानिस उसले गर्ने श्रमकै आधारमा ठूलो-सानो हुन्छ, न कि जन्मको आधारमा।” त्यसैले उनले सामन्ती वर्गीय संरचनामाथि प्रहार गर्दै किसान, मजदुर, दलित, जनजातिहरूलाई संगठित गरे। उनले मुक्ति सेनाको नेतृत्व गर्दै जनताका तमसुक जलाउने, छुवाछूत तोड्ने, सामन्तीको अवैध कब्जा विरुद्ध प्रतिरोध गर्ने अभियान चलाए। वि.सं. २००९ वैशाख २ गते घटालथानमा उनले सबै जातजातिका मानिसलाई एउटै थालबाट पानी खुवाएर जातीय विभेदविरुद्ध व्यावहारिक विद्रोह गरे। उनका लागि समानता भाषणको कुरा होइन, व्यवहारको विषय थियो। उनले भनेका थिए, “जातले होइन्, आत्मसम्मानले ठूलो बनाउँछ।”

नारामा रहेको चेतना

भीमदत्तका नाराहरू आज पनि उत्तिकै सान्दर्भिक छन्:

  • “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो।”
  • “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो।”
  • “उठ जागरे, नेपाली नवजवान जागरे।”

यी नाराहरू केवल आन्दोलित शब्द थिएनन्; यी चेतनाका तीर थिए, जसले समाजमा मौन सहमति दिइरहेको अन्यायको पर्खाल चिरेर जनतालाई बोल्न, उठ्न र अधिकार माग्न सिकायो।

बलिदान र वर्तमान सन्दर्भ

भीमदत्त पन्तको बढ्दो लोकप्रियता सामन्ती वर्ग र राज्य सत्ताका लागि चुनौती बन्यो। अन्ततः वि.सं. २०१० साउन १७ गते उनलाई हत्या गरियो। तर उनको मृत्युले आन्दोलन मरेन, बरु विचारहरू झन सशक्त बने। उनको बलिदानले नेपाली समाजमा अन्यायविरुद्धको चेतनालाई संस्थागत बनायो।

तर आज पनि भूमिहीन किसान, हलिया, सुकुम्बासी र श्रमिक वर्गका समस्या ज्यूँका त्यूँ छन्। भीमदत्तको सपना त्यतिबेला मात्रै पूरा हुन्छ, जब राज्यसत्ताले भूमिहीनलाई जग्गा दिन्छ, श्रमिकलाई श्रमको सम्मान गर्छ, दलित र जनजातिलाई सामाजिक बराबरी दिन्छ।

भीमदत्त पन्त …

भीमदत्त पन्त केवल एक ऐतिहासिक पात्र होइनन्, उनी विचारको ज्वाला हुन्, जुन जति दबाइयो, त्यति अझ बलिरहन्छ । समाजमा अन्याय, असमानता र शोषण जबसम्म अन्त्य हुँदैन, भीमदत्तका विचारहरू सन्दर्भहीन हुँदैनन् ।

आज साउन १७ गते, हामीले उनलाई सम्झिनु केवल औपचारिकताका लागि होइन, हामीले उनीभित्रको विद्रोही चेतनालाई आत्मसात् गर्नुपर्ने छ । भीमदत्तको वास्तविक श्रद्धाञ्जली तब हुनेछ, जब उनको सपना हामीले व्यवहारमा पुरा गर्नेछौं ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  १० : ५८ बजे

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा

अन्याय, असमानता र शोषणविरुद्ध विद्रोह गर्ने किसानका नेता हुनुहुन्थ्यो भीमदत्त पन्त : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त अन्याय, असमानता

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम