बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको छ । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको हो ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । विजयी कँडेलले ४७९ मत प्राप्त गर्नुभएको छ भने रिजालले ४७७ मत प्राप्त गर्नुभएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याउनु भयो । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित हुँदा उहाँसँग प्रतिस्पर्धा गरेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभयो ।
महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनुभएको छ । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गर्नुभयो । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
विजयी उम्मेदवारहरुलाई आज बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिनुभयो । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।
प्रतिक्रिया