धुलिखेल, २७ भदौँः काभ्रेमा कोरोना भाइरसलाई जित्नेको संख्या १९५ पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार जिल्लामा १८२ जना मात्रै सक्रिय संक्रमित छन् ।
अर्थात जिल्लामा हालसम्मको विवरण अनुसार ३७९ जना संक्रमित देखिएका मध्ये १९५ जना निको भएर घर फर्किएका छन् । १८२ जना अस्पताल र आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् । काभ्रेमा अस्पतालको आइसोलेसनमा १४२ जना रहेका छन् । जसमा ५३ जना महिला र ८९ जना पुरुष रहेका छन् ।
त्यसैगरी होम आइसोलेसनमा ४० जना रहेका छन् । १७ जना महिला र २३ जना पुरुष होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो । काभ्रे जिल्लामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाको सबैभन्दा बढी बनेपा नगरपालिका प्रभावित बनेको छ । जहाँ ९३ जना कोरोना संक्रिमित रहेका छन् । बनेपामा महिलाको तुलनामा लगभग पुरुष संक्रमितको संख्या दोब्बर छ । बनेपामा ३३ जना महिला र ६० जना पुरुष संक्रमित छन् ।
धुलिखेलमा भने महिला संक्रमितको संख्या बढी छ । ५० जना संक्रमित मध्ये धुलिखेलमा ३० जना महिला र २० जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पाँचखालमा १० जना, पनौतीमा ३ नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकामा २/२ जना संक्रमित रहेका छन् ।








प्रतिक्रिया