धुलिखेल, २८ बैशाखः काभ्रेमा उद्योगहरुको अनुगमन गर्न उद्याेग अनुगमन समिति गठन गरिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रले काभ्रेमा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै अनुगमन समिति गठन गरिएको हो ।
उद्योग अनुगमन समितिले कोभिड–१९ सँग सम्बन्धित न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन गरे÷नगरेको हेर्ने छ । त्यस्तै अनुगमन समितिले उद्योगभित्र काम गर्ने कामदानहरुको आवास ब्यवस्थानको अनुगमन गर्ने छ । उद्योग अनुगमन समितिलाई न्यूनतम नियम पालना गरेको नपाइए तत्काल सञ्चालन अनुमति रद्ध गर्नेसम्मका अधिकार दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको संकट ब्यवस्थापन केन्द्रको बैठकले विभिन्न उद्योग तथा विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको गरेकाे थियाे । संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाबाट उत्पादित दुध, तरकारी, माछा, कुखुरा, अण्डा, दाना जस्ता कृषि तथा पशुपन्छी जन्य उद्योग सञ्चालन हुन पाउने छन् । मल र बीउ विजन ढुवानी तथा बिक्री गर्न पाइनेछ ।
शीत भण्डार सञ्चालन गर्न पाइने छ । त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित सबै स्वास्थ्यहरु सञ्चालन हुन पाउनेछन् । पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका भन्सारबाट जाँचपास भएका सबै किसिमका सवारी साधन चल्न पाउनेछन् ।
काभ्रे जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग, काभ्रे एकीकृत खानेपानी आयोजनाको काम पूर्ण रुपमा चल्ने छ । नदी निययन्त्रणका कार्यहरु र एक स्थानमा एक पटकमा अधिकतम १० जना भन्दा कम श्रमिकले सञ्चालन गर्न मिल्ने शहरी पूर्वाधारका आयोजनाहरु पनि चल्नेछ ।
सार्वजनिक सेवा तर्फ बैंकहरु सञ्चालन हुनेछ । विद्यूत, खानेपानी, सञ्चार, फोहोरमैला ब्यवस्थापन, दमकल पनि सुचारु हुनेछन् । तर यी सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने अपनाउनु पर्नेछ ।
उद्योग तर्फ चामल, दाल, तेल, चिउरा, पाउरोटी, पिठो, चाउचाउ खुल्न पाउनेछन् । घरेलु तथा साना उद्योग पनि चल्ने छ । बढीमा ३ जनासम्म कामदार रहने गरी सवारीसाधनहरुको मर्मत गर्ने वर्कशप, प्लम्बिङ, इलेक्ट्रिकल सेवाहरु पनि सुचारु हुनेछ ।
प्रतिक्रिया