२०८१, १३ मंसिर बिहीबार

काभ्रेको पनौती नगरले भ्रमण वर्षबारे छलफल थाल्दै, तस्विरमा हेर्नुहोस् पनौतीलाई

काभ्रेको पनौती नगरले भ्रमण वर्षबारे छलफल थाल्दै, तस्विरमा हेर्नुहोस् पनौतीलाई


बनेपा, ७ असोज :  पनौती नगरपालिका काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रमध्येको एक ऐतिहासिक क्षेत्र हो । त्यसको ऐतिहासिकता र धार्मिक तथा सांस्कृतिक महत्व पछिल्लो समयमा ओझेलमा पर्दै गइरहेको भन्दै त्यसको प्रवद्र्धन, विकास र प्रचार–प्रसारका लागि स्थानीय सरकार लागिपर्नुपर्ने आवाज उठ्न थालेसँगै नगरपालिकाले सरोकारवालासँग छलफल थालेको छ ।

पनौतीमा समुदायका व्यक्ति मिलेर स्थापना गरेको पनौती सामुदायिक घरवासले पनि संस्थागतरूपमा भ्रमण वर्ष लक्षित कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ । सो संस्थाका सरस्वती मोक्तानले संस्थागतरुपमा पर्यटन वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । “हामीले सामुदायिक घरवास संस्थाको तर्फबाट पनौती आउने पर्यटकलाई स्वागत गर्न मानेश्वरी बसपार्क नजिकै स्वागतद्वार निर्माण गर्ने, सार्वजनिक शौचालय व्यवस्थापन र सरसफाइ गर्नेलगायतका काममा अगाडि बढ्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

त्यससँगै नगरपालिकाका तर्फबाट पर्यटकका लागि बसपार्कको व्यवस्थापन गर्नुपर्ने, विश्रामस्थलमा बसाइँ व्यवस्थापनका लागि आवश्यक वस्तुको व्यवस्थापन गर्नुपर्ने, पनौतीको संस्कृति झल्कने देवीनाच, भीमेबाजालगायतका नाचलाई साप्ताहिक, मासिक कार्यक्रम गरी शुरु गर्नुपर्ने, विभिन्न जाति र समुदायका खाना महोत्सव एवं वेषभूषाको प्रदर्शनी आयोजना गर्नुपर्नेलगायतलाई व्यवस्थापन गर्न छिटो पहल गर्न सकेमा पनौतीमा पर्यटकलाई अपेक्षाकृतरूपमा स्वागत गर्न सकिने उहाँले बताउनुभयो ।

पनौतीका पर्यटन व्यवसायी अमृत केसीले बनेपाबाट पनौती जाने बाटो छेउछाउ पलाष्टिकजन्य फोहर वस्तुको थुप्रो बढ्न थालेको भन्दै त्यसलाई छिटो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । “पर्यटकलाई विशेषगरी फोहरमैलाले असर गर्ने भएकाले पनौतीलाई स्वच्छ, हराभार शहर बनाउनुपर्ने, पदमार्गको निर्माण गर्नुपर्ने, पार्किङ व्यवस्थावन गर्नुपर्ने र पनौतीमा सडक छेउछाउमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडीको मर्मतकेन्द्र जथाभावी खोलेका कारण सवारीसधान जाममा पर्ने गरेका कारण त्यसलाई छिट्टै हटाउन नगरले पहल गर्नुपर्छ”, केसीले भन्नुभयो ।

खानी सञ्चालन र टिपर बढी सञ्चालन भएका कारण पनि पनौतीमा पर्यटक आवागमनका लागि समस्या हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । नगरपालिकाले भने सरकारले अघि सारेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न सरोकारवालाबीचमा छलफल गरी सुझाव सङ्कलन गरिरहेको जनाएको छ । नगर प्रमुख भीम न्यौपानेले सर्वसाधारण तथा पर्यटन व्यवसायी सबै मिलेर पनौतीको पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र विकास गर्नमा सँगसँगै लाग्नुपर्ने बताउनुभयो ।

त्यसका लागि नगरपालिकाले पर्यटन विकास तथा संस्कृति प्रवद्र्धनमा नीति र बजेटको यवस्थापन गरी सम्बोधन गरेको उहाँको भनाइ छ । त्यससँगै फोहरमैला व्यवस्थापनका लागि आम पनौतीका नागरिक र नगरपालिका दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । नगरको समृद्धिको आधार कृषि र सांस्कृतिक तथा धार्मिक पर्यटन भएको उल्लेख गर्दै गाउँ–गाउँसम्म पर्यटनको आधार तय गर्न भौतिक संरचना निर्माणका लागि योजना बनाएर ल्याएमा नगरपालिका त्यसमा लगानी गर्न तयार रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ ।

पनौती नगरपालिकाभित्र ऐतिहासिक र धार्मिकरूपमा निकै महत्व बोकेका गोरखनाथ मन्दिर, इन्द्रेश्वर मन्दिर, मुक्तेश्वर मन्दिर, बद्रीनाथ, केदारनाथ, भालेश्वर, महादेव मन्दिर, द्रोपत्ता मन्दिर, लड्केश्वर महादेव मन्दिर, फड्केश्वर महादेव मन्दिर (जहाँ जस्तोसुकै खडेरीमा पनि पानी झरिरहने गर्दछ), राजकुमार महासत्वको दरबार, सोह्रखुट्टे पाटी, दुईमुखे पाटी, देवीस्थान डाँडा )जहाँ पृथ्वीनारायाण शाहको पालामा भएको लडाइँमा भएका युद्ध बङ्कर छन्), पनौती सङ्ग्राहलय, त्रिवेणीघाटमा रहेको ३०० वर्षभन्दा पनि अगाडिदेखिका नरिवलको रुखलगायत यहाँका महत्वपूर्ण देवदेवीको मन्दिरहरु पर्यटकका लागि आकर्षक केन्द्र छन् ।

त्यस्तै १२ वर्षमा लाग्ने मकर मेला, जेठ पूर्णिममा लाग्ने हिले जात्रा (जसलाई घुमजात्रा पनि भनिन्छ), उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइने जात्रा, योमरी पूर्णिमा, कन्यापूजा, देवीनाचलगायतका पनौतीका नाचहरु निकै आकर्षक र ऐतिहासिक महत्व बोकेका पर्व रहेका छन् । जसले यहाँका जीवनशैलीसँगै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पनौती पर्यटन विकास समितिका उपाध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

पनौतीको अझ महत्वपूर्ण मेला भनेको प्रत्येक १२ वर्षमा मकर सङ्क्रान्तिमा पनौतीमा मकरमेला हो । माघ महीनाभरि लाग्ने सो मेलामा नेपालभित्रका भक्तजन मात्र नआइ भारतबाट समेत तीर्थालु आउँछन् । मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो । त्रिवेणीमा नुहाइ त्यहाँको जल उत्तरपट्टि कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ ।

पर्यटन विकास समिति गठन

नगरपालिकाले भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटन विकास समिति गठन गरिसकेको छ । राजन महाजु अध्यक्ष रहेको सो समितिको उपाध्यक्षमा पुरुषोत्तम कर्माचार्य, महासचिवमा गीता तिमल्सिना, सचिवमा प्रताप ताम्राकार र कोषाध्यक्षमा सुदीप न्यौपाने रहनुभएको छ । त्यस्तै सदस्यमा क्रमशः विवेक भट्टराई, मणिराज श्रेष्ठ र कमला श्रेष्ठ हुनुहुन्छ । रासस

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ११ : ०३ बजे

मौसम अपडेट : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

चलचित्र उद्योगलाई पर्यटन उद्योगसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना

सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि