२०८२, ९ चैत्र मंगलबार

भूकम्पको चार वर्षपछि जयवागेश्वरी पुनःनिर्माण शुरु

भूकम्पको चार वर्षपछि जयवागेश्वरी पुनःनिर्माण शुरु


काठमाडौँ, ११ भदौ : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माण शुरु भएको छ । गतवर्ष माघ २ गते तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो । फागुनमै क्षमा पूजा गरेर जीर्ण मन्दिर भत्काउन फलामको डण्डीले घेरिए पनि लामो समय काम अघि बढ्न सकेको थिएन । मन्दिर रु तीन करोड १४ लाखमा पुनःनिर्माण हुने पशुपति विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

पुनःनिर्माण पहिले प्रयोग गरिएकै जस्ता प्राचीन निर्माण सामग्रीको प्रयोग हुनेछ । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनःनिर्माणको काम हुने उहाँले बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि कोषले गत वर्ष सम्झौता रद्द गरेको थियो । त्यसपछि पुनःनिर्माण प्राधिकरणको सहयोगमा कोषले ठेक्का गरी पुनःनिर्माणको जिम्मेवारी दिएको हो ।

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि
जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।मन्दिरको कलेवर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सुँड नभएको स्थानीय सन्देश मुनिकारले बताउनुभयो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौ थरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना छन् ।गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारियो ।

मन्दिर २०७७ साल पुस मसान्तमा निर्माण सम्पन्न हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ । मन्दिरमा बहुमूल्य सामग्री रहेकाले २४ सै घण्टा सुरक्षाको प्रबन्ध गरी पुनःनिर्माण शुरु गरिएको कोषको सुरक्षासमेत हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । प्योगोडा शैलीको तीन तले जीर्ण मन्दिर सोमबारदेखि माथिल्लो तलाबाट भत्काउन शुरु गरिएको छ ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : १२ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार