२०८३, ३१ असार बिहीबार

बाढी पीडितका दबिएका स्वर : ‘के खाने, कसरी बच्ने’

बाढी पीडितका दबिएका स्वर : ‘के खाने, कसरी बच्ने’


सप्तरी २ साउन: घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै हुनुहुन्थ्यो । श्रीमती श्यामादेवीले सघाउँदै हुनुहुन्थ्यो ।

तीन दिन भूजाको भरमा बसेका मिश्र दम्पतीले बाढीबाट बचेको अन्न पकाएर बुधबारदेखि सामान्य पेट भर्न थाल्नुभएको छ । उहाँको घरभित्र भरिएको पाँगो माटो देख्दा जो कोहीको मन भक्कानिन्छ । मिश्र परिवारमा यो समस्या भएको पहिलो भने होइन । उहाँ भन्नुहुन्छ, “समस्या मेरो २०औँ वर्षदेखि यही कुरा छ, राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या, अब हामी कसरी बच्ने ?” उहाँको मनको वह अझै रोकिएन । “म बर्बात् छु बरबात्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।”

विडम्बनाको कुरो त हरेक वर्षजसो नै उहाँ पीडित बन्नुभएको छ । आएको राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । उहाँका अनुसार कमजोर र गरीब परिवारले राहत पाउनै मुस्किल छ । “अरु साल पनि राहत आउँथ्यो, उनीहरुकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ”, मिश्रले विगतको अनुभवसहितको पीडा पोख्नुभयो ।

यहाँका धेरै बस्तीमा यस्तै पीडा छ । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ता उस्तै छ । असार २७, २८ मा ज्यान बचाउन गरेको सङ्घर्ष झल्झल्ती सम्झन्छन् पीडितहरु । घर ओभाने बनेको छैन । खाने अन्न छैन, लगाउने कपडा छैन, बस्ने बास छैन, रातमा निद्रा छैन । स्थानीय सत्यनाथ मिश्र भन्नुहुन्छ, “अहिलेको अवस्था एकदम बिग्रेको छ, सबैको घरमा पानी नै पानी छ, जग्गा जमीन पुरिदिएको छ, खाना पकाउन सकिएको छैन र सरकारको कुनै सुविधा आएको छैन ।”

गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमीन पुरेको छ । धानको बीउ सखाप पारेको छ । तिलाठी–कोइलाडीका महेश्वर झा खाँडो खोलाले कृषिमा ठूलो क्षति पु¥याएको बताउनुहुन्छ । “बीउ जति थियो, त्यो बगीहाल्यो, अब किसानसँग बीउ नै छैन, धान कसरी फल्छ ?” झा प्रतिप्रश्न गर्नुहुन्छ । घर भत्किएको र भाँडाकुँडा बगाएर पीडित बनेका स्थानीय बाढीको डर कम भए पनि गाँस, बास र कपासको जोहो गर्ने पीडा थपिएको बताउँछन् ।

साल्ट ट्रेडिङका पूर्वकर्मचारी शतिशचन्द्र झाले खेतीयोग्य जमीन बगर बनेको र बीउ हिलोले पुर्दा किसानलाई ठूलो मर्का परेको बताउनुभयो । “पक्की घर बच्या छ, अरु बच्या छैन, चाँडोभन्दा चाँडो यो खाँडो खोलाको बाँध बन्नु प¥यो, अनि ढुक्कसँग निद्रा लाग्छ ।” झाले गाउँको अवस्था बताउनुभयो । सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुुुुुुगेको छ । प्रमुख जिल्ला अधिकारी सुुुुुुुुुरेन्द्र पौडेलले चार हजार ५०० घरपरिवार प्रभावित भएको बताउनुुभयो । उहाँले राहत वितरणको काम जारी रहेको भन्दै छुटेका भए खोजेर वितरण गर्ने बताउनुुुुुुभयो । उहाँले यहाँको केही स्थान अझै डुबानमा रहेको बताउनुभयो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सरकारको उच्चस्तरीय टोलीले बुधबार सोही ठाउँमा गएर स्थलगत अवलोकन गरी पीडितको अवस्थाबारे जानकारीसमेत लिनुुुुभयो । सप्तरीको यो प्रतिनिधि समस्या तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ । बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरु राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुुग्न नसकेको यो तथ्यले पुष्टि गर्छ ।

स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन । लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ । प्रदेश नं २ को विवरणअनुसार यहाँका आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ ।

अर्थका कारण राहतमा कुनै कमी हुन नदिने उल्लेख गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिनुभयो । राहत वितरण कसरी भइरहेको छ भनेर हेर्ने संयन्त्र नहुने हो भने वास्तविक पीडितले राहत नपाउने गुनासो स्थानीयको छ । सप्तरीका प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुुबान भएको बताउनुहुुन्छ ।

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको, २९ हराइरहेका र ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ÷छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार÷चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन÷तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई÷दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ । रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ६ : ४८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै