२०८३, ३१ असार बिहीबार

धुमधामसँग मनाइँदै उधौँली पर्व

धुमधामसँग मनाइँदै उधौँली पर्व


मङ्गलबारे, ७ पुस : किराँतीको महान् चाड उधौँली पर्व इलामसहित विभिन्न स्थानमा धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् । यी जातिले मङ्सिरे पूर्णिमाका दिन नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ–आफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

यो वर्ष लिम्बू समुदायले इलाम नगरपालिकाको माइखोलामा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, सांस्कृतिक कार्यक्रम तथा वनभोज (ताम्भुङचा) आयोजना गरेका छन् । कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), लिम्बू खानपिन, लिम्बू सांस्कृतिक प्रस्तुति, खेलकूदका कार्यक्रम जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थीलाई स्वागत तथा शुभकामना आदानप्रदानसमेत गरिएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष गायत्री थेगिमले जानकारी दिनुभयो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाएका छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो), सामूहिकरुपमा केलाङ (च्याब्रङ) बजाएर ‘छुई छुई हा, सरलाइमा सर’ भन्दै नाच्छन् । नाता नपर्ने तरुण तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारेलगायत गीत गाएर मनोरञ्जन गर्छन् ।

यस्तै किराँत राई समुदायले साकेला नाच, मौलिक पोशाकको प्रदर्शनी र पूजाआजा गरी विभिन्न कार्यक्रमकासाथ इलाम नगरपालिका–७ ओपिधारामा साकेला थानमा पूजापाठ र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । किराँत सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामास्थित स्यादर थान र फाकफोकथुम गाउँपालिकाको लुम्देमा पूजा गरेर बुरसिल नाचलगायत कार्यक्रम आयोजना गरिएको लुम्देका बुद्ध सुनुवारले बताउनुभयो ।

उक्त स्यादर थानमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले घण्टी दिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । याक्खा समुदायले जोगमाई गाउँपालिकाको नामसालिङमा देवीदेवताको पूजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै गरे । भुजेलले सूर्योदयमा पर्व धुमधामका साथ मनाएका छन्् । यो पर्व किराँतीको बाहुल्यता रहेका इलामसहित पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भव्यताका साथ मनाउने गरिएको छ ।

उधौँली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने समय वैशाख पूर्णिमाको बेला उभौँली मनाउने प्रचलन छ । उधौँली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ९ : ०९ बजे

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा