२०८३, ३१ जेष्ठ सोमबार

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’


काठमाडौँ, ११ मङ्सिर :एउटा दीयो बल्दैछ आशाको,
एउटा सूर्य उदाउँदै छ भरोसाको,
एउटा युगको अन्त्य हुँदैछ अन्धकारको,
एउटा युगको शुरु हुँदैछ उत्साहको,
एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले माथिको कवितात्मक हरफ बाचन गर्ने बित्तिकै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहमा सहभागी सरकारी प्रतिनिधि, उद्यमी, व्यवसायी, श्रमिकलगायत हजारौंको तालीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहल र परिसर गुन्जिएको थियो ।

श्रमिक र उद्यमीको जुहारी चलिराखेको यसअघिका क्षण स्मृतिमा रहिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी उद्यमी, मजदुर सङ्गठनका नेतालगायत सरकारी अधिकारीले सामाजिक सुरक्षा योजनाको स्वागत गर्दै यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त हुँदा देश नयाँ युगमा प्रवेश गरेको झझल्को दिन्थ्यो ।

वर्षौको प्रयासपछि सरकारले आजदेखि मुलुकभर योगदानमा आधारित सामाजिक सुरक्षा योजना एकैसाथ लागू गरेको छ । योसँगै औद्योगिक शान्ति, न्यायका लागि सामाजिक सुरक्षाको प्रत्याभूतिसहित श्रम बजारलाई गतिशील र मर्यादित बनाउने उद्योगी, व्यवसायी तथा श्रमिकको चाहना र प्रतिबद्धताले मूर्तरुप लिएको छ । यस योजनाले श्रमिकको भविश्य सुनिश्चित हुनुका साथै मर्यादित श्रम गर्न उत्साह मिल्ने विश्वास व्यक्त गरिएको छ । सामाजिक सुरक्षा हरेक व्यक्तिको सुरक्षित भविश्यको आधार बन्ने विश्वास लिइएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का पूर्व अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार विष्णु रिमाल झण्डै डेढ दशकदेखिको निरन्तरको मेहनतपछि सामाजिक सुरक्षाका योजना लागू गर्न सफल भएकामा खुसी व्यक्त गर्नुहुन्छ ।

सामाजिक बीमा हुँदै सामाजिक सुरक्षासम्म
सन् १८८० को दशकमा सामाजिक बीमाका रुपमा जर्मन चान्सलर अटो भन विस्मार्कले शुरु गरेका सामाजिक सुरक्षाको अवधारणा नेपालमा विसं १९९१ सालमा सैनिक द्रव्य कोषका रुपमा उदय भई विसं २०१९ सालमा कर्मचारी सञ्चय कोषका रुपमा स्थापना भएको पाइन्छ ।

यसबीचमा विभिन्न ट्रेड युनियन सङ्घ सङ्गठनले सामाजिक सुरक्षा ऐन ल्याउन पटकपटक सरकारसँग आग्रह गरेका थिए । सामाजिक सुरक्षाको कार्यक्रम अघि बढाउन नेपाल सरकारले विसं २०६७ चैत ७ गते कोषको स्थापना गरेको थियो । कोषको मुख्य उद्देश्य योगदानमा आधारित सामाजिक सुरक्षाका योजना तर्जुमा तथा कार्यान्वयन गरी सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो ।

नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा निर्दिष्ट गर्नाका साथै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भइसकेको छ । त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । कार्यविधिअनुसार कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट श्रमिकको काम गर्दाको अवस्थामा पारिश्रमिक र सुरक्षा, सेवाबाट अवकाशपश्चात वृद्धअवस्था सुरक्षा प्राप्त गरी निश्चिन्त रुपमा आफ्नो काममा लाग्ने मौका प्राप्त हुनेछ ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । योजनामा सहभागी हुने श्रमिकलाई कोषले छुट्टाछुट्टै नम्बरसहितको सामाजिक सुरक्षा कार्ड उपलब्ध गराउनेछ । कोषमा दर्ता हुने सोही नम्बरमा श्रमिकले योगदान गरेको र रोजगारदाताले थपेको रकम जम्मा हुनेछ । यदि कुनै श्रमिकले रोजगारदाता परिवर्तन गरेमा पनि सोही नम्बरमार्फत श्रमिकको योगदान थप भइराख्ने छ । निवृत्तिभरणका लागि समेत सेवा अवधि थप हुँदै जानेछ ।

मुलुकको सबैभन्दा ठूलो कोष
सामाजिक सुरक्षा कोष मुलुककै सबैभन्दा ठूलो कोषका रुपमा स्थापित हुनेछ । राष्ट्रिय कल्याणकारी कोषबाट स्थानान्तरण भइआएको रु १९ अर्ब ३३ करोड र प्रत्येक श्रमिकको तलबबाट कट्टी गरिँदै आइएको एक प्रतिशत सामाजिक सुरक्षा करबापतको रकम नेपाल सरकारी खातामा सङ्कलित छ । यो दुबै रकम सामाजिक सुरक्षाकै लागि खर्च गरिने भएकाले कोषमा करीब रु ५० अरब रकम सञ्चित हुने देखिन्छ ।

कोषले सामाजिक सुरक्षा प्रणाली नामक अनलाइन सफ्टवेयर प्रणालीमा कार्यान्वयनमा ल्याएको छ । पेशाविद् र विज्ञता भएको कर्मचारी भर्ना गरी कोषलाई तयारी अवस्थामा राखिएको कोषले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष महेशप्रसाद दहालले सरकारले अघि सारेको यस योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सूचीकृत हुन आग्रह
यस योजनामा सहभागी हुन रोजगारदाताले कोषको वेभसाइटमार्फत अनलाइन सूचीकरण हुनुपर्नेछ । मन्त्रालयले उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि रोजगारदातालाई समयसीमा तोकेरै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरिसकेको छ । काठमाडौँ उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्ता कम्पनीलाई यही मङ्सिर ६ गतेभित्र कोषमा सूचीकृत भइसक्नुपर्नेछ ।

काठमाडौँ उपत्यकाबाहेक प्रदेश नं ३ का रोजगारदाता यही मङ्सिर १५, प्रदेश नं १ का रोजगारदाता आगामी पुस १, प्रदेश नं २ का रोजगारदाता पुस १५ र गण्डकी तथा प्रदेश नं ५ का रोजगादाता माघ १ गतेभित्र कोषमा सूचीकृत भइसक्नुपर्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारादाताले भने आगामी माघ १५ गतेभित्र कोषमा सूचीकृत हुनका लागि निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ । सूचीकरण भएको मितिदेखि तीन महीनाभित्र रोजगारदाताले आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम भएको व्यक्तिलाई जानकारी गराउनुपर्ने कोषले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : ४५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क