२०८२, ३१ भाद्र मंगलबार

आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व : वाम घोषणापत्र

आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व : वाम घोषणापत्र


कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत उल्लेख गरेका छन् ।

आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वाम गठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमा समेटेको छ ।
केही दलले आफूहरु मात्रै लोकतन्त्रको पहरेदार भएको र वाम गठबन्धन प्रजातन्त्रविरुद्ध रहेको भन्दै गरिरहेको प्रचारसमेत आफ्नो कमजोरी लुकाउने र नेपाली जनताको परिवर्तनप्रतिको चाहनालाई अगाडि बढ्न नदिने मानसिकताले आएको अफवाहका रुपमा वाम गठबन्धनले चित्रण गरेको छ ।

दुई पार्टीले लोकतन्त्रको नेपाली मोडल र प्रयोग ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई सफल पार्न र विकास गर्ने लक्ष्य लिएका छन् । तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, जीवन फेर्ने जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादका आधार तयार पार्ने, यसअघिका वामपन्थी सरकारले सामाजिक सुरक्षा र आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको तथ्य नेपाली जनताको अगाडि रहेको भन्दै ती कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणापत्रमा उल्लेख छ ।

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्ध भत्ता वितरणदेखिको सामाजिक सुरक्षाको पहल, विद्युत्भार कटौतीको अन्त्यको दिशामा निर्णायक पहल र ‘नेपालको पानी जनताको लगानी’ जस्ता ऊर्जा क्षेत्र सुधारका ठोस कार्ययोजनालाई पनि प्रमुखरुपमा घोषणापत्रमा समावेश गरिएको छ । यस्तै, अघोषित नाकाबन्दीविरुद्ध राष्ट्रिय एकताको नेतृत्व गर्दै वैकल्पिक निकासको पहल, चीनसँग पारवहनलगायत ऐतिहासिक सम्झौता, अहिलेसम्मकै उच्च आर्थिक वृद्धि वामपन्थी नेतृत्वको सरकारले गरेका केही नमूनायोग्य काम भन्दै वामपन्थी गठबन्धनले आफूहरुको नेतृत्वमा नै विकास र समृद्धिले फड्को मार्न सक्छ भन्ने स्पष्ट संकेत गरेको घोषणापत्रमा उल्लेख छ ।

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, द्वन्द्वपीडितलाई न्याय दिने र दिगो शान्ति स्थापना गर्ने लक्ष्य राखेको वाम गठबन्धनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षालाई सर्वोपरी स्थानमा राख्ने पनि उल्लेख गरेको छ ।
नेपालको संविधानले स्पष्टरूपमा निर्देशित गरेअनुरुप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने घोषणापत्रमा समावेश छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राष्ट्रिय आवश्यकता अनुसार राष्ट्रिय सुरक्षा नीतिलाई राष्ट्रिय सहमतिका आधारमा ठोस रुपमा कार्यान्वयन गर्ने, मजदुर, किसान र श्रमजीवी वर्गको हितमा समर्पित हुने, स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिने विषय घोषणापत्रमा समेटिएको छ ।नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले उम्मेदवारी छनोटको प्रक्रिया सँगसँगै घोषणापत्र तयारीको कामसमेत सम्पन्न भएको बताएका छन् ।

‘आगामी मंसिर २१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय भएकाले यस अवधिमा उम्मेदवार छनोट प्राथमिकतामा परेको जस्तो देखिए पनि घोषणापत्र लेखन पनि सँगसँगै अगाडि बढेको छ’ उनले भनिन् । नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आर्थिक समृद्धिको आधार तयार पार्ने रणनीतिका साथ घोषणापत्र तयार गरिएको जानकारी दिए् । उनले कात्तिक १६ गतेको उम्मेदवारी दर्ता पछि दुई दलको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने पनि बताएका छन् । रासस

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ४ : ०२ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं