सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९ उद्देश्य
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र आगामी महाधिवेशन तथा निर्वाचनको तयारीलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको उद्घाटन गरेका हुन्।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारका जनविरोधी कामको भण्डाफोर, पार्टी सदस्यता नवीकरण, संगठन विस्तार, राजनीतिक प्रशिक्षण र जनताका सुझाव संकलन गरिनेछ। अभियानसँगै वडा तथा पालिका अधिवेशनको तयारीसमेत अघि बढाइनेछ।
नेकपाले अभियानका १९ उद्देश्य सार्वजनिक गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, महँगी–बेरोजगारी–भ्रष्टाचारविरुद्ध जनमत निर्माण, सुशासन र सामाजिक न्यायका पक्षमा जनआवाज संगठित गर्नेदेखि विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि पहल गर्नेसम्मका कार्यक्रम अघि सारेको छ।
त्यस्तै, संगठनात्मक समायोजन पूरा गर्ने, तल्लो तहदेखि केन्द्रसम्म रिपोर्टिङ प्रणाली लागू गर्ने, पार्टी कार्यालय स्थापना गर्ने तथा महिला, युवा, श्रमिक, किसान र विभिन्न सामाजिक समुदायको सहभागिता तथा नेतृत्व विकासमा जोड दिइनेछ।
अभियानका क्रममा विभिन्न राजनीतिक दलको जनाधार र प्रभावको अध्ययन गरी आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको रणनीति तयार गर्ने नेकपाको लक्ष्य छ। पार्टीले यस अभियानलाई महाधिवेशनको तयारी, संगठनात्मक सुधार र जनतासँगको सम्बन्ध विस्तारको अवसरका रूपमा अघि सारेको छ।







प्रतिक्रिया