काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाक्षेत्र नजिक रहेको शैबह तेल क्षेत्रलाई लक्षित गरी आएको ड्रोनलाई बीचमै निष्क्रिय पारिएको थियो। त्यसक्रममा खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो।
घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यद्यपि, ड्रोन कहाँबाट प्रक्षेपण गरिएको थियो र यसमा कसको संलग्नता थियो भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन।
पछिल्लो समय साउदी अरबका महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमणका घटना बढिरहेका छन्। बुधबार दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।
यसअघि अक्टोबर ११ मा रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएको समाचारमा उल्लेख छ। अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको जनाइएको छ।
गत महिना पनि ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेष लागेर साउदी अरबमा एक यमनी नागरिकको मृत्यु भएको थियो।
यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त सरकारी सेनाबीच पुनः द्वन्द्व चर्किएसँगै क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। लामो समयदेखि कायम युद्धविराम भंग भएपछि हिंसात्मक गतिविधि बढेको समाचारमा उल्लेख छ।
यसैबीच, अमेरिकाले साउदी अरबमा कार्यरत गैरआवश्यक सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले विमानस्थललाई समेत लक्षित गरी भइरहेका आक्रमण र सुरक्षा जोखिमलाई उक्त निर्णयको कारण बताएका छन्। उनले विदेशमा रहेका आफ्ना कर्मचारी र परिवारको सुरक्षा सरकारको प्राथमिकतामा रहेको पनि बताएका छन्।
साउदी अरबमा भएका पछिल्ला घटनाले त्यहाँ कार्यरत विदेशी श्रमिकको सुरक्षा र क्षेत्रीय स्थिरताबारे चिन्ता बढाएको छ।







प्रतिक्रिया