काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर फूलपाती पर्व मनाइँदैछ । दशैंको महत्वपूर्ण दिनका रूपमा लिइने सप्तमीमा शुभसाइतको प्रतीकका रूपमा पूजाकोठा तथा दशैंघरमा फूलपाती भित्र्याउने परम्परा छ ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार विभिन्न प्रकारका फूल तथा वनस्पति संकलन गरी विधिपूर्वक पूजा गरेर फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याएसँगै दशैंघरमा विशेष पूजा आराधना गर्ने प्रचलन छ ।
दशैंको सुरुवातदेखि नै देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिँदै आए पनि सप्तमीदेखि उल्लास अझ बढ्ने गर्दछ । फूलपातीका दिन घर तथा पूजाकोठा सरसफाइ गरी विधिपूर्वक फूलपाती भित्र्याएर देवीको पूजा गर्ने गरिन्छ ।
उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले फूलपातीको धार्मिक तथा सांस्कृतिक महत्व विशेष रहेको बताए ।
उनका अनुसार विभिन्न प्रकारका फूल र पाती तथा देवीलाई प्रिय मानिने वस्तुहरूलाई शास्त्रीय विधिअनुसार देवीको समीपमा राखिने भएकाले फूलपातीको विशेष महत्व रहेको हो ।
उनले फूलपाती भित्र्याउनुअघि बेलपत्रलाई निमन्त्रण गर्ने परम्परा रहेको र त्यसपछि बेलपत्रसहित नवपत्रिकालगायतका सामग्री देवीसमक्ष अर्पण गरिने बताए ।
उनले भने, ‘फूलपाती भनेका विभिन्न प्रकारका पातीहरू र फूलहरू भगवतीलाई प्रिय मानिन्छन् । सुरुमा बेलपत्र निमन्त्रण गरिन्छ । त्यसपछि बेलपत्र लगायत देवीलाई प्रिय लाग्ने वस्तुहरू देवीका समीपमा लगेर राखिन्छ । देवीलाई प्रसन्न पार्ने विषयवस्तु भएकाले फूलपातीको विशेष महत्त्व छ ।’
उनले हिन्दू नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत फूलपातीको दिन देवीलाई प्रिय मानिने विभिन्न फूल तथा पातीहरु विधिपूर्वक भित्र्याउने परम्परा रहेको उल्लेख गरे ।
उनका अनुसार फूलपातीमा विभिन्न प्रकारका फूल, पाती तथा देवीलाई प्रिय मानिने वस्तुहरु विधिपूर्वक समीपमा लगेर राख्ने गरिन्छ । फूलपाती भित्र्याउनुअघि बेलपत्रलाई निमन्त्रण गर्ने धार्मिक परम्परासमेत रहेको उनले बताए।
निरौलाका अनुसार नेपालका विभिन्न स्थानमा स्थानीय परम्परा र उपलब्धताअनुसार फूलपाती भित्र्याउने सामग्रीमा केही फरक देखिए पनि यसको मूल शास्त्रीय विधि भने समान रहने गर्छ ।
उनले भने, ‘स्थान अनुसार भिन्नता हुन्छन्, कहीँ कुनै कुरा उपलब्ध हुन्छन, कहीँ पाइँदैन । त्यसअनुसार स्थानीय विविधताले केही कुरामा फरक रहन सक्छ, तर मूल रूपमा भित्र्याउने विधिविधान एउटै हुन्छ ।’
त्यस्तै, दशैंमा गरिने बलिप्रथासमेत शास्त्रीय विधि र प्रक्रियाअनुसार हुने उनले बताए । विशेषगरी अष्टमीका दिन बलिको महत्त्व बढी रहे पनि सप्तमीमा समेत विभिन्न प्रकारका बलि दिने परम्परा रहेको उनले उल्लेख गरे ।
उनका अनुसार नरिवल बलि, कुष्माण्डा बलिलगायत विभिन्न प्रकारले बलि दिन पाउने शास्त्रीय विधानमा उल्लेख छ । बलि दिँदा मन्त्र उच्चारणदेखि प्रक्रिया पूरा गर्ने विधिसमेत छुट्टाछुट्टै रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘बलि दिने व्यवस्था शास्त्रमा बताइएको छ र अनेक प्रकारका बलिहरू हुन्छन् । विशेष बलि अष्टमीमा हुन्छ, सप्तमीमा पनि देवीलाई नरिवल–कुष्माण्डलगायतका सामग्रीको बलि दिने गरिन्छ । विभिन्न प्रकारका बलि दिने शास्त्रीय विधान छ । सबैको विधि हुन्छ, मन्त्र हुन्छन् र प्रक्रिया हुन्छन् । त्यहीअनुसार विधिपूर्वक बलि दिइन्छ ।’
उनले फूलपाती र बलिसम्बन्धी परम्परामा स्थानीय विविधता देखिएपनि यसको मूल धार्मिक तथा सांस्कृतिक मान्यता भने समान रहेको बताए । उनले स्थानीय रूपमा उपलब्ध सामग्रीअनुसार केही फरक अभ्यास भए पनि त्यसलाई मूल परम्पराभित्रै समेटेर अघि बढाउने गरिएको बताए ।







प्रतिक्रिया