काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ। उनको नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि प्रश्न उठेपछि समितिले नियुक्तिका लागि अनुमोदन नगर्ने निर्णय गरेको हो।
जर्मनीबाट निष्कासन गरिएको विषयसँगै मानव तस्करी, नक्कली कागजात र जर्मनी भ्रमणका क्रममा उत्पन्न विवादबारे समितिमा उजुरी परेका थिए। ती विषयमा समितिमा विस्तृत छलफल भएको थियो।
सुनुवाइका क्रममा उजुरीमा उठाइएका प्रश्न, प्रस्तुत विवरण र प्रस्तावित राजदूत सुनारको जवाफमाथि छलफल गरिएको थियो। जवाफ चित्तबुझ्दो नभएको निष्कर्षसहित समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।
राजदूतजस्तो संवेदनशील कूटनीतिक जिम्मेवारीका लागि प्रस्तावित व्यक्तिको सार्वजनिक निष्ठा, नैतिक आचरण र जिम्मेवारी बहन गर्ने क्षमतामाथि प्रश्न उठेपछि समितिको निर्णय आएको हो।
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित राजदूतको नाम अस्वीकृत हुनु नेपालको कूटनीतिक नियुक्ति प्रक्रियामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यसले राजदूत नियुक्तिमा योग्यता, विश्वसनीयता र सार्वजनिक जवाफदेहिताको महत्त्वलाई पुनः उजागर गरेको छ।







प्रतिक्रिया