काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।
वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम छ।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिनेछन्। ती छलफलमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकासका प्राथमिकताबारे विचारविमर्श हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्रीको भ्रमण टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी हुनेछन्।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।







प्रतिक्रिया