काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले मंगलबार बिहान सिंहदरबारमा बैठक बोलाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि बढाएको हो।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजेदेखि सुरु भएको समितिको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूलाई आमन्त्रण गरी सुनुवाइ भइरहेको छ। सुनुवाइमा जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन सहभागी छन्।
समितिले प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने क्षमता, कूटनीतिक कार्ययोजना तथा भावी प्राथमिकताबारे प्रश्नोत्तर र छलफल गर्नेछ। संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि प्रस्तावित व्यक्तिहरूलाई राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सुनुवाइ समितिको निर्णयपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।







प्रतिक्रिया