काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र जनउत्तरदायी बनाउन नैतिकता, निष्ठा र इमानदारीलाई सर्वोच्च प्राथमिकतामा राख्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिमका क्रममा प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई आग्रह गरे। उनले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो। प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका अधिकार र स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए। उक्त जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष र भेदभावरहित ढङ्गले काम गर्न उनले निर्देशन दिए।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने। प्रहरी संगठनभित्र सहकार्य, समन्वय र संस्थागत प्रतिबद्धतालाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकका भावना र अपेक्षाअनुसार सेवा प्रवाह गर्न पनि आग्रह गरे। उनले सूचना प्रविधिको उचित प्रयोगबाट प्रहरीका कामकारबाहीलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने बताए। प्रविधिको प्रभावकारी उपयोगले अपराध अनुसन्धानलाई समयमै सम्पन्न गर्न तथा घटनालाई तत्काल नियन्त्रणमा लिन सहयोग पुग्ने उनको भनाइ थियो।
‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,’ प्रधानमन्त्री शाहले भने। प्रहरी संगठनको नेतृत्व र प्रशिक्षण प्रणालीले पनि अनुसन्धानलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
समारोहमा प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध अधिकारीहरूलाई निरन्तर प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।







प्रतिक्रिया