विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन गरिने
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौंमा आयोजना हुने भएको छ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित हुन लागेको अधिवेशनमा विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
प्रवासी नेपाली मञ्चले विश्वभर छरिएर रहेका नेपालीलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचानको संरक्षणका साथै नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
मञ्चका अनुसार हाल विश्वका ३९ देशमा राष्ट्रिय कमिटी गठन भएका छन् भने ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ। संगठनमा दसौँ हजार नेपाली आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र गैरआवासीय नेपाली संघलगायत विभिन्न संघसंस्थासँगको सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुनेछ। साथै, विभिन्न देशमा क्रियाशील राष्ट्रिय कमिटीबीच समन्वय र सहकार्य बढाउँदै संगठनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइने जनाइएको छ।
प्रवासमा रहेका नेपालीहरूले भोग्दै आएका साझा समस्या तथा चुनौतीको समाधानका लागि एकीकृत पहल अघि बढाउने र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत अधिवेशनले लिएको छ।
यसैबीच, अधिवेशनको सन्दर्भमा मञ्चले विश्वव्यापी ‘मिडिया कन्टेन्ट क्रिएसन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट हुने एक जना सिर्जनाकर्मीलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सूचना तथा प्रविधिको युगमा गुणस्तरीय र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। मञ्चले प्रतियोगितामा सहभागी हुन इच्छुक सबैलाई आफ्ना सिर्जना प्रस्तुत गर्न आग्रह गरेको छ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका प्रचारप्रसार उपसमिति संयोजक भक्त बहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा अधिवेशन सफल बनाउन विश्वभरका राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकलाई सक्रिय सहभागिता र आवश्यक तयारीका लागि आह्वान गरिएको छ। साथै, अधिवेशनलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूबाट सहयोग र रचनात्मक सुझावको अपेक्षा गरिएको छ।







प्रतिक्रिया