गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र पुलमा क्षति पुर्याएको छ। बाढीले गोरखाका विभिन्न स्थानमा ३० भन्दा बढी घरमा क्षति पुर्याउनुका साथै तीनवटा पुल बगाएको छ।
चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङमा पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको हो।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबासमा रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा सातवटा घर र सातवटा टहरामा क्षति पुगेको प्रहरीले जनाएको छ।
बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २२ घर जोखिममा परेका छन्। त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।







प्रतिक्रिया