२०८३, १७ आश्विन आईतबार

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी


काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नेपालको संविधानमा सबैका अधिकार सुनिश्चित गरिए पनि ती अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् । 

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संविधानमा लेखिएका अधिकार सबै समुदायले व्यवहारमै पाउनुपर्ने बताए । 

उनले भने, ‘देशको संविधान बनाउनमा सबैभन्दा ठूलो भूमिका निर्वाह नेपाली कांग्रेसले गरेको थियो । कांग्रेसको सरकारले कमैया मुक्ति गरेको थियो ।’

उनले संविधानमा सबैका अधिकार लेखिए पनि अधिकार प्राप्तिको अवस्था अझै सुनिश्चित हुन नसकेको भन्दै कांग्रेस सभापति गगन थापालाई प्रश्न गरे । 

उनले भने, ‘नेपालको संविधान बनाउने कांग्रेस पार्टीसँगै सम्पूर्ण नेताहरू यस मञ्चमा हुनुहुन्छ । संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी । हामीले अधिकार कहिले पाउने ? नेपालको संविधानमा ६.७ प्रतिशत लेखिएको थारु सत्तााको कुर्सीमा कहिले पुग्ने ? हाम्रा थारु सेनापति कहिले हुने ? थारु प्रधानन्यायाधीश कहिले हुने ?’

चौधरीले आफू गगन थापालाई विश्वास गर्ने व्यक्ति भएको बताउँदै नेतृत्वले पुरानो पुस्ताको सोचबाट माथि उठ्नुपर्ने बताए ।

‘गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ, म त तपाईंलाई विश्वास गर्ने मान्छे हुँ। दुःख माने मान्नुस्, नमाने नमान्नुस् । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्नेले देश बिगारे, कहिलेकाहीँ जुँगा भएका, पूरै काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने । 

चौधरीले नेपाली कांग्रेस ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै राणा शासनको अन्त्यदेखि पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धसम्म कांग्रेसले महत्वपूर्ण राजनीतिक संघर्ष गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस एउटा ऐतिहासिक पार्टी हो, जसले राणाशासनको अन्त्य गर्‍यो, पञ्चायती व्यवस्थालाई समाप्त पार्‍यो र १० वर्ष जनयुद्धलाई खेप्यो। नेपाली कांग्रेस त्यतिमा मात्र सीमित छैन।’

१९ दिने जनआन्दोलनमा कांग्रेस सभापति थापाले गणतन्त्रका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै चौधरीले आफूहरू पनि उक्त आन्दोलनमा सहभागी भएको बताए ।

उनले भने, ‘१९ दिने जनआन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाउने एउटा युवा आजका सभापति गगन थापा हुनुहुन्थ्यो। तर गगन जी, त्यो आन्दोलनमा हामी पनि समाहित भएका थियौँ। हामीले पनि लाठी खायौँ, पानीका फोहोरा खायौँ।’

उनले जनआन्दोलनका क्रममा गणतन्त्रसँगै आफ्नो पहिचान र धर्मसमेत साटिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

‘तर एउटा अनौठो संयोग त्यहाँ छुट्न गयो। त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगन जी ? हामी चाहन्छौँ, हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन,’ उनले भने । 

चौधरीले आफ्नो समुदायको सांस्कृतिक पहिचान र परम्परासँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो दसैँको जमरासँग र हाम्रो बहिनीले लगाउने सप्तरंगी टीका र मालासँग हामी कुनै चिजको साटफेर गर्नेवाला छैनौँ।’

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ४ : ५९ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला