मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका तेमालका तीन आरोही भेटिएका छन्।
हिमाल आरोहणको तयारीका लागि गएको २२ जनाको टोलीमध्ये केही सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार अभियान सुरु गरिएको थियो। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी रहेको प्रारम्भिक विवरण छ। बेपत्ता भएकामध्ये काभ्रेको तेमाल गाउँपालिका–१ कल्लेरीपाखाका बिख्रध्वज तामाङ (ललध्वज), डेमा दोर्जे तामाङ (लावाड) तथा तेमाल–५ नारायणथानका जगतबहादुर तामाङ समेत रहेका थिए।
हिमपहिरोपछि उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङ पुगे पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन। प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको थियो। तीनै जना भेटिएपछि उनीहरूको अवस्था र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ। हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरणसमेत यकिन हुन सकेको छैन।







प्रतिक्रिया