२०८३, १ मंसिर मंगलबार

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी


सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको तथ्यांकअनुसार जडिबुटी संकलनबाट स्थानीयको आम्दानी उल्लेख्य देखिएको हो । डिभिजन वन अधिकृत दीपेश केसीका अनुसार जडिबुटीको व्यवस्थित संकलन र उत्पादन विस्तार गर्न सके यसको आर्थिक योगदान अझ बढाउन सकिन्छ ।

गत आर्थिक वर्षमा जाजरकोटबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज र धुपीको पातलगायत ३७ प्रजातिका जडिबुटी निकासी भएका छन् । तीमध्ये टिमुर र झ्याउ स्थानीय आम्दानीका प्रमुख स्रोत बनेका छन् । जिल्लाबाट मात्रै १ लाख ९८ हजार ७५९ किलो टिमुर निकासी भएको छ । निजी आवादीबाट १ लाख ३ हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारी वनबाट ४२ हजार ६८७ किलो टिमुर संकलन गरिएको हो ।

संकलनस्थलमै टिमुरको मूल्य प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म पर्ने गरेको छ । औसत ६०० रुपैयाँ मूल्यका आधारमा टिमुरबाट मात्रै स्थानीयले करिब १२ करोड रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै, झ्याउबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वनमै जोडिएको ग्रामीण अर्थतन्त्र

जाजरकोटको कुल भूभागको ६०.१८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । वन, वन्यजन्तु, जडिबुटी तथा जैविक विविधताले समृद्ध जिल्लामा जडिबुटी संकलन आयआर्जन र रोजगारीको महत्वपूर्ण माध्यम बनेको छ । जडिबुटीबाहेक आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रबाट १ करोड ३ लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व, ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर तथा सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको छ ।

तर करोडौँको आम्दानीसँगै वन संरक्षणमा चुनौती पनि उत्तिकै छन् । जिल्लामा १ हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन डढेलो, अवैध वन पैदावार चोरी निकासी तथा मानव–वन्यजन्तु द्वन्द्वलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । गत वर्ष ३८ वटा सामुदायिक वनमा ५५ पटक डढेलो लागेको थियो भने वन तथा वन्यजन्तु अपराधसम्बन्धी पाँच मुद्दा अभियोजन भई फछ्र्योट भएका छन् ।

जडिबुटी र वन संरक्षणलाई सँगसँगै अघि बढाउन कार्यालयले उत्पादन र वृक्षारोपणमा समेत जोड दिएको छ । करिब ४० हेक्टर क्षेत्रमा ५५ हजार बिरुवा रोपिएको छ भने कार्यालयको बहुवर्षीय नर्सरीमा करिब ५० हजार बिरुवा उत्पादन गरिएको छ । व्यावसायिक उत्पादन, दिगो संकलन र संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउन सके जाजरकोटको वन तथा जडिबुटी स्थानीय अर्थतन्त्रको अझ ठूलो आधार बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ८ : ३० बजे

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा