काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाका दुई तथा राष्ट्रियसभाका तीन समितिको बैठकमा सार्वजनिक सेवा, बेरुजु, संघीयता, विधायन र दैनिक उपभोग्य वस्तुको आपूर्तिसहितका विषयमा छलफल हुँदैछ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौतीबारे छलफल गर्ने कार्यसूची छ। यस्तै, बिहान ९ बजे नै सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। बैठकमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति तथा स्थलगत निरीक्षणसम्बन्धी विषयमा छलफल हुनेछ। राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समिति र कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयका विषयमा छलफल हुनेछ। त्यसैगरी, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यता, बिहान १०ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन, अनुगमनलगायतका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।







प्रतिक्रिया