रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, भारतको खैरा भलिबल क्लब र सभापोखरी भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवलस्थित बीआईसीसी सम्मेलन केन्द्रमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले २५–२०, २३–२५, २५–२०, १८–२५ र १५–१२ को सेटमा जित निकाल्यो । समूह ‘ए’ कै अर्को खेलमा खैरा भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै उपविजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । खैराले २५–२०, २५–२०, १९–२५ र २५–१७ को सेटमा जित निकालेपछि मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिए ।
समूह ‘बी’ मा सभापोखरी भलिबल क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारतीय खेलाडीको साथ पाएको सभापोखरीले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । सभापोखरीले २४–२६, २५–१९, २५–२० र २०–११ को सेटमा एपीएफलाई हरायो । एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको समूह ‘बी’ को अन्तिम खेल भने १–१ सेटको बराबरीपछि स्थगित गरिएको छ । दुवै टोलीले बाँकी खेल पूरा गर्ने सहमति गरेकाले समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो त्यसपछि लाग्नेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोली सहभागी छन् । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ, उपविजेताले ३ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।






प्रतिक्रिया