काठमाडौं । बीसौँ एसियाली खेलकुदमा नेपालका खेलाडीले आज गल्फ र जुडोमा प्रतिस्पर्धा सुरु गर्दैछन्। यससँगै कनोइङ स्लालममा नेपालका दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।
गल्फमा पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ तारा कार्कीले व्यक्तिगत स्ट्रोक प्लेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।
नेपाली गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले प्रतियोगितामा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन्। खेलाडीले पर्याप्त अभ्यास गर्न पाएकाले प्रदर्शन सकारात्मक हुने उनको विश्वास छ।
जुडोमा भने नेपालका चार खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। निशा श्रेष्ठले महिला ४८ केजीमुनि, देवकीमाया श्रेष्ठले ५२ केजीमुनि, विशेष विकले पुरुष ६६ केजीमुनि र विकास विकले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
यता, कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगरले सेमिफाइनलमा स्थान बनाएका छन्। मंगलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डमा दूरी पूरा गर्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार जारी एसियाली खेलकुदमा नेपालबाट विभिन्न खेल विधामा गरी १३५ खेलाडी सहभागी छन्।







प्रतिक्रिया