काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले प्रमुख राजमार्ग तथा ग्रामीण सडकमा यातायात प्रभावित भएको छ। विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त सडकखण्डमा रात्रिकालीन आवागमनसमेत रोकिएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ टाकुर्चेमा असोज ११ गते बिहान ३ः४० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, टिकाभैरव–चारघरे सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–४ मा असोज १२ गते दिउँसो पहिरो खस्दा आवागमन ठप्प भएको छ।
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित विभिन्न भित्री सडकमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै असोज ८ देखि १२ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन तथा पैदल यात्रुको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यता, पृथ्वी राजमार्गको धादिङ खण्डमा सम्भावित बाढी तथा पहिरोको उच्च जोखिम देखिएपछि असोज ९ गते बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, वडा नम्बर ३ को गौमतीखोला तथा गजुरी गाउँपालिका–२ चालिसे र परेवाभीरमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक खुलाइए पनि वर्षा नरोकिएकाले थप पहिरोको जोखिम कायमै रहेको छ।
काभ्रेको रोशी गाउँपालिका–८ गिम्तीबेँसी र वडा नम्बर ४ सयबेँसी क्षेत्रमा पहिरो खसे पनि बीपी राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। लगातारको वर्षाका कारण सडकमा जुनसुकै बेला थप अवरोध आउन सक्ने भएकाले यात्रुले मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने अवस्था छ।
वर्षा जारी रहेकाले राजमार्गमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। प्रहरीले पहिरो तथा बाढी प्रभावित सडकमा जबर्जस्ती यात्रा नगर्न, सडकको अवस्था नबुझी रातिको समयमा यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।







प्रतिक्रिया