२०८३, ८ आश्विन शुक्रबार

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’


काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई लिएर व्यवस्थापन र श्रमिक युनियनबीच तनाव बढेको छ। होटल व्यवस्थापनले पुनर्निर्माणको कारण देखाउँदै विभिन्न विभागमा कार्यरत श्रमिक तथा कर्मचारीलाई अन्तर–विभाग सरुवा गर्ने निर्णय गरेपछि होटलका तीनवटै श्रमिक युनियन त्यसको विरोधमा उत्रिएका छन्।

तीन युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवस्थापनको निर्णयलाई एकतर्फी र श्रमिकको हकहितमाथि हस्तक्षेप गर्ने कदमका रूपमा चित्रण गरेका छन्। उनीहरूले तत्काल निर्णय फिर्ता लिन माग गर्दै समस्या समाधानका लागि व्यवस्थापनले श्रमिकसँग संवाद गर्नुपर्ने बताएका छन्। युनियनका अनुसार सेप्टेम्बर १८ मा व्यवस्थापनले सार्वजनिक गरेको सूचनाले सामान्य श्रम सम्बन्ध, सम्मानजनक श्रम व्यवहार र श्रमिकको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ। होटलमा वर्षौंदेखि काम गर्दै आएका श्रमिकको योगदानलाई बेवास्ता गर्दै हचुवाका आधारमा सरुवा गर्न खोजिएको उनीहरूको आरोप छ।

व्यवस्थापनले भने होटलको प्रिन्सेप विङ भवन स्तरोन्नति तथा पुनर्निर्माणका कारण सञ्चालन क्षमता घट्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न अन्तर–विभाग सरुवा गर्नुपरेको जनाएको छ। सेप्टेम्बर २२ देखि लागू हुनेगरी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित विभागका कर्मचारी तथा श्रमिकलाई अन्य विभागमा खटाउने व्यवस्थापनको निर्णय छ। पुनर्निर्माण अवधिमा प्रिन्सेप विङका अतिथि कोठा र गार्डेन टेरेस पूर्णरूपमा बन्द रहने भएकाले होटल पूर्ण क्षमतामा सञ्चालन नहुने व्यवस्थापनको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव हाउसकिपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज, रुम सर्भिस र फ्रन्ट अफिस लगायतका विभागमा पर्ने जनाइएको छ।

तर युनियनहरूले पुनर्निर्माण वा व्यवसाय सञ्चालनको व्यवस्थापन गर्नुपर्ने विषयलाई स्वीकार गरे पनि त्यसको भार श्रमिकमाथि एकतर्फी रूपमा थोपर्न नहुने बताएका छन्। उनीहरूले श्रमिकको कार्यअधिकार, सम्मान र रोजगारीको सुरक्षालाई केन्द्रमा राखेर समाधान खोज्न माग गरेका छन्। ‘एकतर्फी निर्णय गरेर श्रमिकलाई असहज र तनावपूर्ण अवस्थामा काम गर्न बाध्य पार्न नहुने’ भन्दै युनियनहरूले व्यवस्थापनलाई तत्काल वातावरण सहज बनाउन आग्रह गरेका छन्। विवाद समाधान नभए श्रमिकको हक र अधिकार संरक्षणका लागि थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्। त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी व्यवस्थापनले लिनुपर्ने युनियनहरूको भनाइ छ।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ (आधिकारिक युनियन), नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ द सोल्टी र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेण्ट मजदुर युनियन द सोल्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। होटलको पुनर्निर्माण व्यवस्थापनका लागि व्यावसायिक आवश्यकता भए पनि त्यस क्रममा श्रमिकसँगको सम्बन्ध, रोजगारीको सुरक्षा र कार्यअधिकार कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय अब सोल्टी होटलको मुख्य श्रम विवाद बनेको छ। संवादबाट समाधान खोजिएन भने विवाद थप चर्किन सक्ने संकेत युनियनहरूको चेतावनीले दिएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  २ : ४९ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई