काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको इन्द्रजात्राले नेपाली समाजको मौलिकता, एकता र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षणसँगै त्यसलाई भावी पुस्तासम्म जीवन्त रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको हो।
उहाँले इन्द्रजात्रा केवल धार्मिक पर्व नभई काठमाडौं उपत्यकाको इतिहास, संस्कृति, कला, परम्परा र सामुदायिक जीवनसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री थापा मगरले इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गर्नुभएको छ।
“हाम्रो मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा पुस्तान्तरण अझ सुदृढ बनोस्,” उहाँले भन्नुभएको छ।
मुख्यमन्त्रीले आधुनिकता र तीव्र सामाजिक परिवर्तनसँगै मौलिक संस्कृति तथा परम्पराको संरक्षण थप महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ। उहाँले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र सम्पदासँग जोड्न राज्य, समुदाय र नागरिक तहबाट निरन्तर पहल आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपालको बहुल सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सामाजिक एकता र सहअस्तित्वको भावनालाई बलियो बनाउने उहाँको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले इन्द्रजात्राले नेपाली समाजमा एकता, सद्भाव र सहकार्यको भावना थप मजबुत बनाउँदै मौलिक संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ।







प्रतिक्रिया