काठमाडौ। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको छ।
मुख्यमन्त्री थापा मगरले लगातारको वर्षाका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको हो। उहाँले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा अनावश्यक यात्रा नगर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको छ।“निरन्तर वर्षा भइरहेको छ, खोलानाला तथा नदीहरूको सतह निरन्तर बढ्दै छ। त्यसैले सतर्क रहनुहोला। अत्यावश्यक नपरी बाहिर ननिस्कनुहोस्, यात्रा नगर्नुहोस्,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ। प्राकृतिक तथा मौसमजन्य विपद् पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ।
“मौसमजन्य प्रकोप हाम्रो सधैँको समस्या हो। मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय हो। यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र हाम्रो प्रयत्न यसैमा जारी छ,” उहाँले भन्नुभयो।मुख्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सावधानी अपनाउन, परिवारको सुरक्षालाई प्राथमिकतामा राख्न तथा विपद्सम्बन्धी सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ।
निरन्तर वर्षाका कारण विशेषगरी नदी तथा खोलाको आसपास, पहिरोको जोखिम रहेका क्षेत्र र कमजोर भौगोलिक संरचना भएका स्थानमा थप जोखिम हुनसक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई समेत सक्रिय रहन आग्रह गरिएको छ।







प्रतिक्रिया