काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। केन्द्रीय कमिटीको बैठककै बीचमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो।
सचिवालय बैठकले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव टुंग्याएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ। एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।
बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन, विभिन्न पार्टी विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीका सहइन्चार्ज तोक्ने विषयमा छलफल भइरहेको छ। निर्वाचन समीक्षा प्रतिवेदनका सुझावका आधारमा केही पार्टी कमिटी र जनसंगठनसम्बन्धी विषयसमेत बैठकको कार्यसूचीमा छन्।
सचिवालय बैठकपछि आजै मध्याह्न १२ः३० बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो तथा नेताहरूको जिम्मेवारीसम्बन्धी निर्णय अनुमोदन तथा घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्।
यसअघि केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिसकेको छ।







प्रतिक्रिया