काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर रूस–युक्रेन युद्धमा पठाइरहेको आरोप लगाएका छन् ।
बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले रूसले विभिन्न देशका नागरिकलाई सैनिकका रुपमा भर्ती गरेर युद्धभूमिमा पठाएको र तीमध्ये धेरैले ज्यान गुमाइरहेको दाबी गरे । जेलेन्स्कीले घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत ४७ देशका नागरिक रूसको युद्धमा प्रयोग भइरहेको उल्लेख गरे । उनले सम्बन्धित देशहरूलाई आफ्ना नागरिकलाई यस्तो अवस्थाबाट जोगाउन आग्रह गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध विस्तार गर्न नदिन कदम चाल्न अपिल गरे । यसैबीच, भारतको विदेश मन्त्रालयका अनुसार हालसम्म २२७ भारतीय नागरिक रूसी सेनामा भर्ती भएका छन् । तीमध्ये १३९ जना सेवा मुक्त भइसकेका छन् भने ५१ जनाको मृत्यु भएको छ । भारतले उनीहरूको फिर्तीका लागि मस्कोसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।
जेलेन्स्कीले रूसको युद्ध सञ्चालन गर्ने आर्थिक क्षमता कमजोर बनाउनुपर्नेमा जोड दिँदै तेल उद्योग र युद्ध वित्तीय स्रोतलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । जेलेन्स्कीले उत्तर कोरियाका नेता किम जोङ उनले पनि रूसलाई सैनिक पठाएको आरोप लगाउँदै त्यसको बदलामा उन्नत सैन्य प्रविधि प्राप्त गरिरहेको दाबी गरे । एएनआई







प्रतिक्रिया