न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन् । महासभाको उच्चस्तरीय छलफलमा उनले सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यसूची तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
गुटेरेससँगको भेटपछि शाहले महासभालाई सम्बोधन गर्नेछन् । बिहीबारको दिवासत्रमा १८ देशका सरकार तथा राष्ट्रप्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेकामा नेपालको पालो १७औँ नम्बरमा रहेको छ ।
महासभाको कार्यतालिकाअनुसार प्रत्येक वक्ताका लागि १५ मिनेटको समय छुट्याइएको छ । त्यसअनुसार नेपाली समयअनुसार शुक्रबार बिहान करिब ४ देखि ५ बजेको आसपास प्रधानमन्त्री शाहले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
शाहले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, प्रभावित मुलुकले पाउनुपर्ने न्याय तथा जलवायुजन्य विपद्बाट सिर्जित चुनौतीबारे धारणा राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहसँग प्रमुख सल्लाहकार कुमार बेनसहितको टोली न्युयोर्क पुगेको छ । उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका थिए ।







प्रतिक्रिया