काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले निर्वाचन पराजयको सम्पूर्ण जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीमाथि थोपर्ने प्रवृत्ति रोक्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन्।
तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले पार्टी राष्ट्रिय कार्यभार र निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने समयमा नेतृत्व विवाद र गुटगत ध्रुवीकरणमा अल्झिनु उचित नभएको बताए। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र पार्टी पुनर्जागरणमा केन्द्रित रहेको भन्दै उनले प्रतिवेदनलाई आवश्यक सुझावसहित अघि बढाउनुपर्ने धारणा राखे। थापाले निर्वाचन पराजयको कारण खोज्दा ‘दोषी को ?’ भन्दा ‘पराजय किन भयो ?’ भन्ने प्रश्नको वस्तुगत उत्तर खोज्नुपर्ने बताए। पराजय समीक्षा गर्न गठित कार्यदल पात्र पहिचानमा बढी केन्द्रित भएको उनको टिप्पणी थियो। उनले महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्ने अभ्यासले पार्टीभित्र गुटगत ध्रुवीकरण बढाएको भन्दै त्यसको असर निर्वाचनमा समेत परेको बताए। पराजयको जिम्मेवारी नेतृत्वको मात्र नभई सामूहिक भएको उनको भनाइ थियो।
‘अध्यक्षको नेतृत्वमा जनतामाझ जान सकिँदैन भन्ने भाष्य बनाएर पार्टीविरोधी शक्तिको प्रभावमा पर्नु हुँदैन,’ थापाले भने। नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठनको समाधानका रूपमा प्रस्तुत गर्न नहुने भन्दै उनले दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई समेत कुनै ‘रामबाण उपचार’ का रूपमा बुझ्न नहुने बताए। नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणलाई राजनीतिक प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।
थापाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको गुटगत ध्रुवीकरणबाट पार्टीले शिक्षा लिनुपर्ने बताए। ‘आन्तरिक विभाजन लिएर चुनाव जित्न सकिँदैन,’ भन्दै उनले आगामी निर्वाचनमा एमाले एकढिक्का भएर मैदानमा उत्रिनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११औँ महाधिवेशनबाटै अस्वीकृत भइसकेको विषय भएको भन्दै उनले त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउन नहुने बताए।
‘एमालेलाई अन्त्यहीन बहसको डिबेट क्लब बनाउनु हुँदैन। महाधिवेशनका निर्णय र पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्छ,’ थापाले भने। भदौ २३ र २४ गतेका घटनाबारे पार्टीले तथ्य र प्रमाणमा आधारित साझा दृष्टिकोण बनाउनुपर्ने भन्दै उनले निष्पक्ष नागरिक छानबिनमार्फत घटनाको सत्यतथ्य अभिलेखीकरण गर्नुपर्ने बताए।
नेतृत्व तहमा देखिएको तिक्तताले पार्टीपंक्तिमा निराशा बढाएको उल्लेख गर्दै थापाले अध्यक्ष ओली तथा उपाध्यक्ष–महासचिवबीच विश्वास र सहकार्यको वातावरण पुनःनिर्माण गर्नुपर्ने बताए। उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्दै सरकारका संविधानविरोधी तथा जनविरोधी गतिविधिविरुद्ध सशक्त रूपमा प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरे।







प्रतिक्रिया