काठमाडौं । त्रिपुरेश्वरमा बस आगलागीमा ज्यान गुमाएका व्यक्तिको पहिचानलाई लिएर अन्योल देखिएको छ। मृतकको साथबाट भेटिएको चालक अनुमतिपत्रका आधारमा प्रहरीले काभ्रेका २५ वर्षीय दावा लामा भएको बताएको थियो। तर, लाइसेन्सधारी दावा लामा आफू सकुशल रहेको जानकारी गराएपछि प्रहरी थप अनुसन्धानमा जुटेको छ।
घटनाको वास्तविकता बुझ्न प्रहरीले दावा लामालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथस्थित बग्गीखानामा बोलाएर सोधपुछ गरिरहेको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। त्यसको केही समयपछि बसको पछाडिको भागबाट आगो सल्किएको थियो।
आगलागीमा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकको वास्तविक पहिचान र आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।







प्रतिक्रिया