काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् । गोपालराज वंशावलीमा नेपाल संवत् ५०३–५०४ मै गाईजात्रा (सायात) को उल्लेख पाइने भएकाले यो परम्परा प्रताप मल्लभन्दा धेरै अघिदेखि नै प्रचलनमा रहेको उनले बताए ।
गाईजात्राका सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षबारे नेपाल न्यूज बैंकसँगको कुराकानीमा टन्डनले नेपालमा चन्द्रमाको गतिअनुसार चल्ने चान्द्रायण पञ्चाङ्गका कारण चाडपर्वहरू प्रकृति र जनजीवनसँग लयबद्ध रूपमा जोडिएको बताए ।
उनका अनुसार भारतले ब्रिटिश शासनपछि क्रमशः सौर्य पात्रोलाई प्राथमिकता दिँदा तिथि–केन्द्रित अभ्यास कमजोर बन्दै गयो । नेपालमा भने तिथिअनुसार चाडपर्व मनाउने परम्परा अझै निरन्तर रहेको उनले उल्लेख गरे ।
उनका अनुसार कृषिप्रधान समाजमा धान रोपाइँ र गोडमेल सकिएपछि आउने तिथिहरूको सामाजिक र धार्मिक महत्त्व क्रमशः बढ्दै जान्छ । गुँला पर्व, गाईजात्रा, जनैपूर्णिमा, सोह्र श्राद्ध, दशैँ, तिहार र छठजस्ता पर्वहरू यही मौसमी चक्रसँग गाँसिएर समाजमा निरन्तर दोहोरिने सांस्कृतिक लय बनेको उनले बताए ।
टन्डनले गाईजात्राको केन्द्रमा गाईप्रतिको वैदिक सम्मान रहेको बताए । ‘गाईलाई विश्वको माता मानिएको छ,‘ उनले भने, ‘दूध, दही, गोबर र गहुँतको उपयोगितालाई आधुनिक विज्ञानले पनि विभिन्न रूपमा स्वीकार गर्न थालेको छ ।’ गोबरले घर लिप्ने पुरानो अभ्यासमा समेत सरसफाइ र स्वास्थ्यसँग सम्बन्धित वैज्ञानिक आधार रहेको अहिले पुष्टि हुँदै गएको उनको भनाइ छ ।
उनका अनुसार गाईजात्रा मृत्युसँग जोडिएको स्मृति–पर्व हो । गएको एक वर्षभित्र परिवारका सदस्य गुमाएका घरबाट गाई वा गाईको प्रतीकसहित जात्रा निकाल्ने चलन विशेषगरी काठमाडौं उपत्यकाको हिन्दु नेवार समुदायमा प्रचलित छ । पुराणमा वर्णित वैतरणी नदी सहज रूपमा तर्न आत्मालाई सहयोग पुग्ने धार्मिक विश्वाससँग यो परम्परा जोडिएको उनले बताए ।
यही कारण गाईजात्राले व्यक्तिगत शोकलाई सामूहिक स्मरण र सामाजिक सहभागितामा रूपान्तरण गर्ने भूमिका खेलेको उनको विश्लेषण छ । गाईजात्राको उत्पत्तिबारे उनले दुई फरक ऐतिहासिक धारणा रहेको बताए ।
१९औँ शताब्दीमा लेखिएका भाषा वंशावलीहरूले प्रताप मल्लका पुत्र चक्रपातेन्द्र मल्लको मृत्युपछि रानीलाई सान्त्वना दिन गाईजात्रा सुरु गरिएको उल्लेख गरे पनि त्यो अन्तिम ऐतिहासिक निष्कर्ष नभएको उनको भनाइ छ । गोपालराज वंशावलीमा ‘सायात’ को उल्लेख प्रताप मल्लभन्दा अघिकै प्रमाण भएको उनले बताए ।
यद्यपि, लिच्छविकालका दुई सयभन्दा बढी शिलालेखमा गाईजात्राको प्रत्यक्ष उल्लेख भने नपाइएको उनले स्पष्ट पारे । त्यसबेला गाई, नन्दी र कामधेनुको महत्त्व शिलालेख, मूर्ति र मुद्रामा प्रशस्त देखिए पनि जात्राका रूपमा यसको उल्लेख नदेखिएको उनले बताए । त्यसैले गाईप्रतिको धार्मिक सम्मान प्राचीन भए पनि गाईजात्रा कहिलेदेखि सुरु भयो भन्ने प्रश्नमा गोपालराज वंशावली अहिले उपलब्ध सबैभन्दा पुरानो लिखित प्रमाण रहेको टन्डनको धारणा छ ।
गाईजात्रा सहरको ऐना पनि हो
काठमाडौंका गल्लीमा गाईजात्रा निस्कँदा त्यो केवल दिवंगत आफन्तको सम्झना बोकेको धार्मिक यात्रा हुँदैनथ्यो । त्यो सहरको खबर बोकेर हिँड्थ्यो । कुन घरमा मृत्यु भयो, दरबारमा के घटना भयो, समाजमा कसले के गर्यो र शासकदेखि सर्वसाधारणसम्म कसका कमजोरी के थिए ? गाईजात्राको भीड र त्यससँगै निस्कने व्यंग्यचित्रले धेरै कुरा सुनाउँथे ।
टन्डनका अनुसार गाईजात्राको यही सामाजिक चरित्रले यसलाई काठमाडौंको सांस्कृतिक जीवनमा विशिष्ट बनाएको हो । उनका अनुसार गाईजात्रा ठाउँअनुसार फरक स्वरूपमा मनाइन्छ । काठमाडौं, भक्तपुर, पाटन, देवपाटन, कीर्तिपुर, नाला र बनेपालगायतका ठाउँमा जात्रा निकाल्ने शैली, अवधि, भेषभूषा र प्रस्तुति फरक छन् । कतै एक दिन, कतै तीन दिन त कतै सात दिनसम्म जात्रा चल्ने गरेको उनी बताउँछन् ।
काठमाडौंमा परम्परागत रूपमा गाई वा बाच्छाबाच्छीलाई सिँगारेर जात्रा निकाल्ने चलन थियो । अहिले गाई पाउन कठिन हुँदै गएपछि मानिस नै गाईको स्वरूपमा प्रस्तुत हुन थालेका छन् । भक्तपुरमा भने मृतकको तस्बिर राखेर छुट्टै शैलीमा जात्रा निकालिन्छ । देवपाटनमा मानिसलाई सिँगारेर व्यंग्यात्मक र मनोरञ्जनात्मक स्वरूपमा प्रस्तुत गर्ने परम्परा छ ।
‘गाईजात्रा खाली धार्मिक आस्था मात्र होइन, यसभित्र व्यंग्य र प्रहसन पनि प्रवेश गर्यो,‘टन्डन भन्छन,‘मानिसलाई हँसाउने, मनोरञ्जन दिने र व्यंग्य गर्ने माध्यमका रूपमा पनि यो विकसित भयो ।’
आज मनोरञ्जनका माध्यम असंख्य छन् । तर विगतमा अवस्था त्यस्तो थिएन । त्यसबेला वर्षमा हुने जात्रा र पर्व नै सार्वजनिक मनोरञ्जनका प्रमुख अवसर थिए । त्यसैले जात्रामा आउने मानिसलाई हँसाउने, व्यंग्य गर्ने र रमाइलो गराउने अभ्यास विस्तारै गाईजात्राको अभिन्न पक्ष बनेको टन्डनको बुझाइ छ ।
विशेषगरी २०३७ सालअघिसम्म गाईजात्रासँग जोडिएका व्यंग्यात्मक सामग्रीको प्रभाव ठूलो रहेको उनी बताउँछन् । गाईजात्राको अवसर पारेर दुई, तीन र चार पानासम्मका विशेष पत्रिका प्रकाशित हुन्थे । मानिसहरू ती पत्रिका किन्न र पढ्न उत्सुक हुन्थे । प्रधानमन्त्रीदेखि राजनीतिक व्यवस्था, शासकदेखि समाजका विकृतिसम्मलाई व्यंग्यको विषय बनाइन्थ्यो ।
तर अहिले त्यो अवस्था बदलिएको छ । ‘गाईजात्रा नै किन पर्खनुपर्यो र, सधैं गाईजात्रा छ भन्ने भाष्य पनि बन्न थालेको छ,‘ टन्डन भन्छन् । उनका अनुसार सञ्चार र मनोरञ्जनका माध्यम विस्तारसँगै गाईजात्राको पुरानो सामाजिक भूमिका पनि क्रमशः कमजोर भएको छ ।
तर गाईजात्राको अर्को महत्त्वपूर्ण भूमिका थियो । सूचना प्रवाहको आधुनिक सञ्चार सुविधा नभएका बेला जात्राका टोलीहरू सहरको एउटा भागबाट अर्को भागमा पुग्दा उनीहरूले मृत्युसम्बन्धी सूचना पनि बोकेर हिँड्थे । काठमाडौं हनुमानढोका, पाटनमा ५५ झ्याले दरबार आसपासजस्ता सार्वजनिक स्थलमा जात्रा हेर्न मानिस जम्मा हुन्थे । त्यहाँबाट कसको घरमा कसको मृत्यु भयो भन्ने जानकारीसमेत समुदायले पाउँथ्यो ।
काठमाडौं, पाटन र भक्तपुरका गाईजात्राका टोली दरबार हुँदै जाने परम्परा पनि यही सामाजिक सम्बन्धसँग जोडिएको टन्डन बताउँछन् । विगतमा दरबारमा समेत मृत्यु भएका परिवारबाट जात्रा निकालिन्थ्यो । जात्रा टोलीलाई दरबारमा सम्मान गर्ने र उनीहरूलाई खानेकुरा बाँड्ने चलन अहिले पनि कतिपय ठाउँमा कायम छ ।
गाईजात्राले त्यसैले मृतकको सम्झना मात्र गर्दैन । यसले एउटा सहरको सामाजिक स्मृति सुरक्षित गर्छ—कसको घरमा मृत्यु भयो, समाजमा के परिवर्तन आयो र समयसँगै परम्परा कसरी फेरियो भन्ने कथा पनि सुनाउँछ ।
टन्डनका अनुसार गाईजात्राको स्वरूप बदलिनु अस्वाभाविक होइन। केही परम्परा समयसँगै हराएका छन् । केही नयाँ रूपले आएका छन् । तर परिवर्तनका बीच पनि यसको मूल चरित्र—मृतकको सम्झना, सामाजिक सहभागिता र समाजलाई आफ्नै अनुहार देखाउने व्यंग्य—अझै बाँकी छ । यही कारण गाईजात्रा एउटा पर्वभन्दा बढी समाजको ऐना बनेको छ ।
लाखेनाच : बालमनमा कौतूहल जगाउने लोकपरम्परा
काठमाडौं उपत्यकाका जात्रा–पर्वमा देखिने लाखेनाच मनोरञ्जनसँगै बालबालिकाको कौतूहल र जिज्ञासा जगाउने सांस्कृतिक परम्परा हो । संस्कृतिविद् टन्डनका अनुसार लाखेको मुख्य उद्देश्य मानिसलाई मनोरञ्जन दिनु भए पनि यसको प्रभाव बालबालिकामा अझ गहिरो हुन्छ ।
लामो कपाल र डरलाग्दो स्वरूपमा प्रस्तुत हुने लाखेलाई देखाएर अभिभावकले बालबालिकालाई फकाउने वा तर्साउनेसमेत गर्छन् । ‘खाना नखाए लाखे आउँछ’ भन्ने कथन त्यसकै एउटा उदाहरण हो । तर लाखेको स्वरूपभित्र वास्तवमा मानिस नै रहेको कुरा बालबालिकाले सुरुवाती अवस्थामा थाहा पाउँदैनन् । त्यसले उनीहरूमा अर्को लोक वा संसारबाट आएको कुनै पात्रजस्तो कौतूहल सिर्जना गर्ने टन्डन बताउँछन् ।
लाखे विभिन्न जात्रा तथा पर्वमा देवीदेवतासँग सम्बन्धित स्वरूपमा प्रस्तुत हुने भएकाले यसको नाच्ने समय र अवसर पनि परम्पराले निर्धारण गरेको हुन्छ । जात्रामा लाखे नदेखिँदा मानिसले पर्व नै खल्लो भएको अनुभूति गर्ने गरेको उनी बताउँछन् । टन्डनका अनुसार लाखेनाचले मनोरञ्जनसँगै बालबालिकामा प्रश्न गर्ने, खोजी गर्ने र नयाँ कुरा बुझ्ने संस्कारसमेत विकास गराउँछ ।







प्रतिक्रिया