काठमाडौं । नेपालको वामपन्थी आन्दोलनभित्र बढ्दै गएको वैचारिक अन्योल, विभाजन र चुनौतीबीच ‘नेपालको वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयमा आज राजधानीमा राष्ट्रिय बहस हुँदैछ।
समाजवाद अध्ययन केन्द्रको आयोजनामा हुने बहसमा प्रमुख कम्युनिष्ट धारका प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित हुँदैछन्। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल र नेकपाका स्थायी कमिटी सदस्य शक्ति बस्नेत सहभागी हुनेछन्।
आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने बहसमा नेपालको कम्युनिष्ट आन्दोलन किन कमजोर हुँदै गइरहेको छ, वाम शक्तिहरूबीचको विभाजनको कारण के हो र अबको बाटो के हुनुपर्छ भन्ने प्रश्नमा केन्द्रित बहस हुने आयोजकले जनाएको छ। समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईका अनुसार कार्यक्रममा नेपालका विभिन्न कम्युनिष्ट पार्टीमा सक्रिय नेता, कार्यकर्ता तथा वामपन्थी विचारसँग जोडिएका व्यक्तिहरूबीच व्यापक वैचारिक छलफल हुनेछ।
उनले भने, “यो कुनै एउटा पार्टीको मात्र बहस होइन, नेपालको समग्र वाम आन्दोलन अब कुन दिशामा अघि बढ्ने भन्ने गम्भीर प्रश्नमाथिको बहस हो।” लामो समयदेखि टुटफुट, विभाजन र नेतृत्व विवादमा अल्झिएको नेपाली वाम आन्दोलनले जनतासँगको सम्बन्ध, वैचारिक स्पष्टता, संगठनात्मक पुनर्गठन र समाजवादी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषय अहिले प्रमुख चुनौतीका रूपमा देखिएको छ।
आजको बहसलाई वाम आन्दोलनको विगतको समीक्षा मात्र नभई आगामी राजनीतिक दिशाको खोजी गर्ने महत्वपूर्ण वैचारिक मञ्चका रूपमा हेरिएको छ। एकै मञ्चमा फरक वाम धारका नेताहरूको उपस्थितिले आजको बहसलाई थप अर्थपूर्ण बनाएको छ।







प्रतिक्रिया