काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको छ।
हाल देशभर सामान्य बदली रहेको छ भने बागमती र गण्डकीका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र कोशीका केही क्षेत्रमा वर्षा भइरहेको छ। गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्नेछ।
सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पार्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।







प्रतिक्रिया