२०८३, २९ श्रावण शनिबार

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिल्लाबाट ७६ मिनेट लामो राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यो उनको लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हो।

सम्बोधनका क्रममा मोदीले भारतको विकास, आत्मनिर्भरता, प्रविधि, ऊर्जा सुरक्षा, उत्पादन, युवा तथा महिला सहभागितादेखि नक्सलवादसम्मका विषय उठाए।

मोदीले स्वतन्त्रता आन्दोलनका नेताहरू जवाहरलाल नेहरू, सरदार वल्लभभाइ पटेल, श्यामाप्रसाद मुखर्जी, सुभाषचन्द्र बोस, डा. भीमराव आंबेडकर, भगत सिंह, सुखदेव, राजगुरु, बिरसा मुन्डा र ज्योतिबा फुलेलाई स्मरण गरे।

उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य दोहोर्‍याउँदै पछिल्लो १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिर आएको दाबी गरे। रक्षा उत्पादन चार गुणा, मोबाइल फोन उत्पादन ३३ गुणा र डिजिटल कारोबार १०० गुणासम्म बढेको उनको भनाइ थियो।

‘नक्सली गए, तर दिमागी नक्सल अझै छन्’

मोदीको सम्बोधनमा नक्सलवाद र माओवादी हिंसाको विषय विशेष चर्चामा रह्यो। उनले हतियार बोकेका नक्सलीविरुद्ध भारतले सफलता हासिल गरेको दाबी गर्दै अब ‘दिमागी नक्सल’ चुनौतीप्रति सचेत हुनुपर्ने बताए।

उनका अनुसार चार दशकसम्म नक्सलवादले भारतको ठूलो भूभाग र जनसंख्यालाई प्रभावित बनाएको थियो। नक्सलविरोधी अभियानमा ३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी सहिद भएको उनले बताए।

‘मेक इन इन्डिया’देखि सेमिकन्डक्टरसम्म

मोदीले भारतलाई उत्पादनमा आत्मनिर्भर बनाउने नीति अघि बढाउनुपर्ने बताए। ‘मेक इन इन्डिया’, ‘लोकल फर भोकल’ र ‘आत्मनिर्भर भारत’ अभियानलाई तीव्रता दिने उनको भनाइ थियो।

भारतमा तीनवटा सेमिकन्डक्टर प्लान्टबाट उत्पादन सुरु भइसकेको र आगामी वर्षमा थप प्लान्ट सञ्चालनमा आउने उनले दाबी गरे। कृत्रिम बौद्धिकता, डेटा सेन्टर र चिप उद्योगका लागि ऊर्जा सुरक्षा महत्वपूर्ण रहेको पनि उनले बताए।

उनले सौर्य ऊर्जाको क्षमता सन् २०१४ को दुई गिगावाटबाट बढेर १६० गिगावाट पुगेको तथा रेलवे विद्युतीकरणमा पनि ठूलो प्रगति भएको दाबी गरे।

किसानलाई मलमा राहत दिएको दाबी

रुस–युक्रेन युद्ध र पश्चिम एसियाली तनावका कारण विश्वमा ऊर्जा तथा खाद्य संकट बढेको उल्लेख गर्दै मोदीले भारतले त्यस्ता चुनौतीको सामना गरेको बताए।

अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य प्रतिबोरा ३ हजार रुपैयाँसम्म पुगे पनि भारतीय किसानलाई करिब ३०० रुपैयाँमा उपलब्ध गराइएको उनले दाबी गरे। डीएपी मल पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो मूल्यमा किसानलाई उपलब्ध गराइएको उनको भनाइ थियो।

‘रिफर्म एक्सप्रेस’ अघि बढाउने घोषणा

मोदीले आगामी दिनमा सुधारको गतिलाई थप तीव्र बनाउने घोषणा गरे। पाँच दशकमा पूरा हुन नसकेका काम आगामी पाँच वर्षमा पूरा गर्ने लक्ष्यसहित ‘रिफर्म एक्सप्रेस’ अघि बढाउने उनको भनाइ थियो।

उनले विकसित भारत निर्माणका लागि युवा शक्ति, उत्पादन, प्रविधि, कृषि, ऊर्जा सुरक्षा र आत्मनिर्भरतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको आह्वान

मोदीले लोकसभा र विधानसभामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक दललाई आग्रह गरे।

उनले ‘नारी शक्ति वन्दन अधिनियम’को चर्चा गर्दै महिलाको राजनीतिक सहभागिता बढाउन दलहरूलाई सहकार्य गर्न आह्वान गरे।

सम्बोधनको अन्त्यमा मोदीले स्वतन्त्रता आन्दोलनका नेताहरूले देखेको सपनाबाट प्रेरणा लिएर भारतलाई सन् २०४७ सम्म विकसित राष्ट्र बनाउने अभियानमा अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ३ : १९ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ