धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व पनि फेरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा र नेकपा एमालेबीच बनेको नयाँ राजनीतिक समीकरणका आधारमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले भट्टको दाबीमा समर्थन गरेका थिए।
दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन्। उनको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ।
बजेट विवादपछि फेरियो सरकार
यसअघि नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री थिए। बजेटप्रति असहमति जनाउँदै एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि शाहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
नेकपाले चार, एमालेले तीन मन्त्रालय पाउने
नयाँ सत्ता समीकरणमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत टुंगिएको बताइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछन्। मुख्यमन्त्रीको शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ।
सुदूरपश्चिममा नेकपाका २२ र एमालेका ११ सांसद रहेकाले नयाँ गठबन्धनले प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत जुटाएको हो।
भट्टको नेतृत्वमा गठन हुने नयाँ सरकारका अगाडि बजेट कार्यान्वयन, मन्त्रालय व्यवस्थापन र गठबन्धनभित्रको शक्ति सन्तुलन कायम राख्दै सरकारलाई स्थायित्व दिने चुनौती हुनेछ।






प्रतिक्रिया