काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै छन्।
जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी गम्भीर घाइते भएपछि देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि उनी थाई एयरवेजको उडानमार्फत बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
देउवाको स्वागतका लागि कांग्रेसको संस्थापनइतर पक्षले विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ। देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीतिअनुसार देशका विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं बोलाइएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुग्नेछन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू पनि स्वागतका लागि सहभागी हुनेछन्।
सुदूरपश्चिमबाट समेत ठूलो संख्यामा कार्यकर्ता काठमाडौं आएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्वीरसहित विमानस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ। देउवालाई विमानस्थलबाट बाजागाजासहित स्कर्टिङ गरेर लैजाने तयारी गरिएको छ। उनले विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
कांग्रेसभित्र आधिकारिकताको विवाद पुनः सर्वोच्च अदालत पुगेका बेला देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। लामो उपचारपछि नेपाल फर्किएका देउवा अब पार्टीको आन्तरिक विवाद र आगामी राजनीतिक गतिविधिमा कसरी सक्रिय हुन्छन् भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको छ।







प्रतिक्रिया