, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको छ।
श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट आज बिहानै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली जनआस्था कार्यालय पुगेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।
प्रहरी टोली बिहान करिब ७ बजे कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयभित्र रहेका प्रहरीले कागजपत्रसँगै विभिन्न कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणबारे अनुसन्धान गरेको जनाइएको छ।
श्रेष्ठ पक्राउ परेपछि उनको गिरफ्तारीको विषयलाई लिएर पत्रकार तथा सञ्चारकर्मीहरूले विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहितका पत्रकारहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएका छन्।
धर्नामा सहभागी पत्रकारहरूले पत्रकारलाई पक्राउ गरी सञ्चारगृहमा समेत प्रहरी प्रवेश गराएर खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनीहरूले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा राज्य गम्भीर हुनुपर्ने बताएका छन्।
महासंघले श्रेष्ठको पक्राउको विरोध गर्दै आवश्यक परे थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।







प्रतिक्रिया