दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ।
सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर गरेका छन्। सहमतिको पहिलो बुँदामा ‘हरेक घर धारो, हरेक गाउँ सिँचाइ’ भन्ने नारालाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेख छ। स्वच्छ खानेपानीको पहुँच विस्तार गर्नुका साथै कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था गर्न अभियान सञ्चालन गरिनेछ।
पानीलाई नागरिकको आधारभूत आवश्यकता मात्र नभई उत्पादन र समृद्धिको आधारका रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ। त्यसैगरी दोस्रो बुँदामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, स्वाभिमान र आत्मसम्मान सुनिश्चित गर्न सामाजिक एकता तथा सामूहिक पहललाई सशक्त बनाउने उल्लेख छ। नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका विषयमा सरकारको मात्र भर नपरी सामाजिक संघसंस्था, अभियान तथा नागरिकको समेत भूमिका बढाउने लक्ष्य सहमतिमा राखिएको छ। तेस्रो बुँदाले विश्वभर रहेका नेपालीको स्वाभिमान, आत्मसम्मान र पहिचानलाई केन्द्रमा राखेको छ। विदेशमा रहेर श्रम तथा व्यवसाय गरिरहेका नेपालीको योगदानलाई सम्मान गर्दै उनीहरूको पहिचान र स्वाभिमान सुदृढ गर्ने रचनात्मक तथा सिर्जनशील गतिविधि सञ्चालन गरिने सहमति भएको छ।
चौथो बुँदामा साथी समाजको ‘एक घर, एक स्वरोजगार’ अभियानलाई सफल बनाउन सहकार्य, प्रचार–प्रसार, जनचेतना तथा सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्दै घरपरिवारमै आयआर्जनको वातावरण सिर्जना गर्ने उद्देश्यले स्वरोजगारलाई प्राथमिकता दिने बताइएको छ। त्यस्तै पाँचौँ बुँदामा पानीको अभाव रहेका सुक्खा गाउँ तथा बस्तीमा दिगो रूपमा पानी पुर्याउने पहल गर्ने उल्लेख छ। पानीको स्रोत पहिचान, प्रविधिको प्रयोग, आर्थिक व्यवस्थापन तथा सामाजिक सहभागिताका माध्यमबाट सम्भावित समाधान खोजिनेछ।
साथी सामाजिक सञ्जालका मित्रलाल पार्देले पानी, रोजगारी र नागरिकको आत्मसम्मानसँग जोडिएका विषयमा सामाजिक अभियान आवश्यक रहेको बताए। उनले सहमति कागजमा सीमित नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सकारात्मक सन्देश पुर्याउने गरी काम गरिने बताए। घोराही बनाऔँ अभियानका सबिन प्रियासनले पानी, स्वरोजगार र आत्मनिर्भरता विकासका आधार भएको बताए। उनले “समाज परिवर्तन भाषणबाट मात्र सम्भव हुँदैन, त्यसका लागि निरन्तर अभियान र सामूहिक प्रयास आवश्यक हुन्छ” भन्दै सहमतिअनुसार देखिने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
दुवै पक्षले पाँचबुँदे सहमतिलाई साझा प्रतिबद्धताका रूपमा स्वीकार गर्दै सामाजिक हित, जनजीवनको सुधार, आत्मनिर्भरता र स्वाभिमानी समाज निर्माणका लागि आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने बताएका छन्।







प्रतिक्रिया