जनकपुरधाम । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनामा ज्यान गुमाएका चारजनाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित हिन्दु–मुस्लिम समुदायको संयुक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि केहीबेर तनाव र होहल्ला भएको छ।
उद्योग व्यापार संघ गोलबजारले बिहीबार आयोजना गरेको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा सांसद यादवले सुनसरी र गोलबजारका घटनाबारे सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको बताउँदै घटनाका क्रममा गोली चल्नुपर्ने अवस्था नरहेको दाबी गरे। उनले घटनाका बेला ड्युटीमा रहेका प्रहरी निरीक्षक, तत्कालीन डीएसपी, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायको भूमिकामाथि पनि छानबिन भइरहेको बताए।
तर मन्तव्यका क्रममा यादवले केही राजनीतिक दल तथा गोलबजारकै स्थानीयको भूमिकाप्रति संकेत गर्ने अभिव्यक्ति दिएपछि कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका कार्यकर्ता र रास्वपा समर्थकबीच भनाभन सुरु भयो। विवाद चर्किँदै गएपछि प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षा घेरामा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।
कार्यक्रममा सहभागी रास्वपाकी समानुपातिक सांसद सबिना मियाले नेपाल सबै समुदायको साझा देश भएकाले विभाजनको भावना त्यागेर सामाजिक सद्भाव, सहकार्य र राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने बताइन्।
संयुक्त श्रद्धाञ्जली कार्यक्रममा सुनसरीका ओमप्रकाश महतो, जयप्रकाश महतो, रविन्द्र मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागी अधिकांश वक्ताले सुनसरी र गोलबजारका घटनामा राज्य संयन्त्रको कमजोरी रहेको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए।
उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहका अनुसार आन्दोलनका क्रममा मुस्लिम समुदायका घर, पसल तथा व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्तिको प्रतिबद्धतासहित संयुक्त श्रद्धाञ्जली कार्यक्रमपछि बन्द रहेका पसल खोल्ने सहमति भएको छ।
साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनाको प्रभाव साउन १४ गते सिरहाको गोलबजारसम्म फैलिँदा साम्प्रदायिक तनाव चर्किएको थियो। त्यसक्रममा चार जनाको मृत्यु हुनुका साथै घर, पसल तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको थियो।
कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद यादवले आफूले कुनै गलत अभिव्यक्ति नदिएको दाबी गर्दै सत्य बोलेकै कारण अन्य राजनीतिक दलहरूले अनावश्यक रूपमा विवाद सिर्जना गरेको आरोप लगाए।







प्रतिक्रिया