२०८३, २० श्रावण बिहीबार

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई


विराटनगर । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन आफ्नो निजी चाहना भएको भन्ने आरोपलाई ‘सफेद झूट’ र ‘वाहियात हल्ला’को संज्ञा दिएका छन्। उनले पार्टीको निर्णय र अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नै आफूले अक्षरशः पालना गर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राईले कोशी प्रदेश सरकार सञ्चालनका विषयमा एमाले र नेकपा (माओवादी केन्द्र)बीच साउन ९ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नु दुवै दलको अनिवार्य दायित्व भएको बताए। उक्त सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू, प्रदेश कमिटी र मुख्यमन्त्रीलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ। राईले सहमति कार्यान्वयनका क्रममा केही आन्तरिक गाँठो देखिएको स्वीकार गरे पनि त्यसलाई अनावश्यक रूपमा विवादको विषय बनाइएको बताए।

उनले लेखेका छन्, “सहमति कार्यान्वयन गर्ने कुरामा केही गाँठो परेको साँचो हो, तर त्यो बाहिर ल्याउने विषय थिएन। मुख्यमन्त्रीज्यू आफैँले अध्यक्षलाई भेटेर गाँठो फुकाउने जिम्मा लिन्छु भन्नुभएको हो। अध्यक्षको निर्देशनपछि उहाँले त्यो गाँठो फुकाउनुहुनेछ भन्ने पार्टीको अपेक्षा छ।” अध्यक्ष ओलीले गुण्डुमा आफू र प्रदेश पदाधिकारीलाई बोलाएर मुख्यमन्त्री परिवर्तनबारे छलफल गरेको भन्ने चर्चासमेत उनले अस्वीकार गरेका छन्। अन्य कामका सिलसिलामा काठमाडौं पुगेका बेला अध्यक्षसँग भेट भएको र मुख्यमन्त्रीकै उपस्थितिमा सामान्य छलफल भएको उनको स्पष्टोक्ति छ।

मुख्यमन्त्री परिवर्तन आफ्नो व्यक्तिगत चाहना भएको वा आफूले हस्ताक्षर अभियान चलाएको भन्ने आरोपप्रति राईले कडा आपत्ति जनाउँदै भनेका छन्, “मुख्यमन्त्री फेर्ने कुरा मेरो निजी चाहना हो भन्नु गैरजिम्मेवार कुरा हो। मैले पार्टीको नीति, विधि र पद्धति उल्लंघन गर्न जानेको छैन, व्यक्तिगत स्वार्थको राजनीति पनि गरेको छैन।”

राईले आफू कोशी प्रदेशको पहिलो मुख्यमन्त्री हुँदा पार्टीको निर्देशन पाउनासाथ कुनै विवाद नगरी जिम्मेवारी हस्तान्तरण गरेको स्मरण गराउँदै अहिले पनि पार्टीको निर्णयभन्दा माथि आफू नरहेको बताएका छन्। उनका अनुसार पार्टीको निर्देशन नै अन्तिम हुने भएकाले त्यसको अक्षरशः पालना गरिनेछ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ३ : ४३ बजे

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई

विराटनगर । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन