विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान कायम राखेपछि तत्कालका लागि उनकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको छ।
बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवासमा मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच भएको छलफलपछि तत्काल नेतृत्व परिवर्तन नगर्ने निष्कर्ष निकालिएको हो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले तत्कालका लागि मुख्यमन्त्री कार्कीले नै सरकारको नेतृत्व गर्ने र पार्टी अध्यक्षले उपयुक्त समय ठानेपछि मात्रै नेतृत्व परिवर्तन हुने बताए।
उनका अनुसार छलफलमा अध्यक्ष ओलीले आवश्यक ठानेको समयमा मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्तसमेत राखेका छन्। “अध्यक्षले उपयुक्त वातावरण जतिखेर देख्नुहुन्छ, त्यतिबेला सबैले निर्देशन मान्नुपर्छ। बस्नुपरे बस्ने र छोड्नुपरे छोड्ने निष्कर्षमा पुगेका छौं,” खतिवडाले भने।
यससँगै कोशी प्रदेशमा नेतृत्व परिवर्तनको चर्चा तत्कालका लागि स्थगित भएको छ भने मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा प्रदेश सरकार अघि बढ्ने भएको छ।







प्रतिक्रिया