काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो चरित्र र प्रतिशोधपूर्ण राजनीतिमाथि कडा प्रहार गर्नुभएको छ। राज्य सत्ताको दुरुपयोग गर्दै विपक्षीलाई एउटा कानुन र आफूलाई अर्को कानुन लागू गर्ने सरकारको रवैया अब स्वीकार्य नहुने चेतावनी उहाँले दिनुभएको छ।
कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा हालै प्रहरी प्रशासनमार्फत भएका हत्या र हिंसात्मक घटनाप्रति लक्षित गर्दै महासचिव पोखरेलले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको कडा आलोचना गर्नुभयो। विगतमा भदौ २३–२४ को घटनालाई भजाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भन्दै हल्ला पिट्नेहरूले अहिले आफ्नै पालामा भएका हत्या र हिंसाको जवाफ दिनुपर्ने उहाँको भनाइ छ।
सरकारको दोहोरो मापदण्डमाथि प्रहार गर्दै महासचिव पोखरेलले भन्नुभयो:
“गत भदौ २३–२४ को घटनामा सुरक्षा निकायले गरेको बल प्रयोगको राजनीतिक जिम्मेवारी भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न मिल्छ भने, हाल कोशी र मधेशमा प्रहरीमार्फत भएका हत्या र हिंसात्मक घटनाको नैतिक र राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले किन नलिनु? शासन सत्तामा दोहोरो मापदण्ड कुनै हालतमा स्वीकार्य हुँदैन।”
महासचिव पोखरेलले वर्तमान सरकारलाई सोझै दुईवटा विकल्प रोज्न चुनौती दिनुभएको छ:
- विगतको कदम गलत थियो भनेर जनतासामु सार्वजनिक रूपमा माफी माग्ने,
- अथवा, वर्तमान घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी लिँदै तुरुन्त राजीनामा दिएर निष्पक्ष कानुनी प्रक्रिया सामना गर्न बाटो खुला गर्ने।
आफू सत्तामा हुँदा राज्यको शक्ति दुरुपयोग गरी नागरिकको ज्यान लिने र अरूलाई भने कानुनको धम्की दिने वर्तमान सरकारको राजनीतिक चरित्र नांगिएको भन्दै पोखरेलले एमाले यस्तो दोहोरो चरित्रको सामुन्ने चुप लागेर नबस्ने स्पष्ट पार्नुभएको छ।







प्रतिक्रिया