काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका बेला राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका उपाध्यक्ष क्षितिज लामाले सरकारभन्दा पार्टी संगठनलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
लामाले सामाजिक सञ्जालमार्फत सरकार गठन र परिवर्तन नियमित राजनीतिक प्रक्रिया भए पनि पार्टी र संगठन दीर्घकालीन शक्ति भएको धारणा सार्वजनिक गरेका हुन्। उनले सरकार, पद र सत्ता क्षणिक हुने तर संगठन, विचार र पार्टी एकता स्थायी शक्ति भएको उल्लेख गरेका छन्।
“सरकार आउँछन्, सरकार जान्छन्। तर पार्टी र संगठन जीवित रहनुपर्छ,” लामाले लेखेका छन्, “पद क्षणिक हो, सत्ता साधन हो, संगठन शक्ति हो।” उनका अनुसार बलियो संगठन, अनुशासित कार्यकर्ता र मजबुत पार्टी एकताले मात्रै राजनीतिक सफलता सम्भव हुन्छ। पार्टी एकता मजबुत हुँदा सरकार सञ्चालन मात्र नभई मुलुक निर्माणको आधारसमेत बलियो हुने उनको भनाइ छ। प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलभित्र छलफल र समीकरण निर्माण भइरहेका बेला आएको लामाको अभिव्यक्तिलाई संगठन केन्द्रित राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
लामाले सरकार निर्माणलाई मात्र राजनीतिक उपलब्धिको रूपमा नलिई पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण र कार्यकर्ताबीच एकता कायम राख्नुपर्नेमा जोड दिएका छन्। “सरकारभन्दा पार्टी, पदभन्दा संगठन र व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राख्दै पार्टी एकतालाई अझ मजबुत बनाऔँ। यही नै हाम्रो ऐतिहासिक जिम्मेवारी हो,” उनले भनेका छन्। उनको अभिव्यक्तिले सत्ता परिवर्तनभन्दा दीर्घकालीन राजनीतिक शक्ति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने सन्देश दिएको छ।








प्रतिक्रिया